काठमाडौँ १४ साउन । ललितपुरमा ऋणी महिलालाई लगातार बलात्कार गरी घरजग्गा हडपेको आरोपमा पक्राउ परेका मिटरब्याजी साहु सुर्जमान मालीविरुद्ध मानव बेचबिखनविरुद्धको किटानी जाहेरी दर्ता भएको छ ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार मालीविरुद्ध मानव बेचबिखनको जाहेरी दर्ता गरिएको हो । मालीलाई शुक्रबार बेलुका ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।
‘पक्राउ परेकै दिनदेखि लागू हुने गरी मानव बेचबिखनविरुद्धको मुद्दामा अनुसन्धान अघि बढेको छ, आरोपितको बयानबाट खुल्यो भने अरु आरोपितहरुको पनि खोजी गरेर अनुसन्धानको दायरामा ल्याइन्छ,’ प्रवक्ता कार्कीले भने ।
श्रीमानको उपचार गर्न ऋणी महिलाले आफन्त पर्ने सुर्जमानबाट ०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सुर्जमानले उक्त ऋणको मासिक ब्याज ५० हजार तोकेका थिए । नियमित आयआर्जन नभएकी पीडित महिलाले ऋणसापट गरेर मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरिन् । साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानको हातमा थमाइन् ।
सुर्जमानले भने साँवा कटाउनुको सट्टा उक्त रकमबाट ब्याज मात्रै कटाइदिए । सुर्जमानले महिलासँग साँवा र ब्याज एकमुष्ट मागेका थिए । महिलाले एकैपटक रकम तिर्न नसकेपछि सुर्जमान र उनका साथीहरुले ब्याज घटाइदिने भन्दै उनीमाथि चार पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
बलात्कारको विषय सबैलाई भनिदिने भन्दै उनीहरूले तमसुक गराएर महिलाको घरजग्गासमेत कब्जा गरेका थिए । त्रास र झुक्यानमा पारी ऋणी महिलाबाट ब्याजसहित ८० लाख ८२ हजार २ सय २७ रुपैयाँ भुक्तान हुनुपर्ने भनी सुर्जमानले ललितपुर अदालतबाट फैसलासमेत गराएका थिए । त्यसपछि घर र जग्गा हडपेर ७९ लाख भुक्तान लिएका थिए । असुल हुन बाँकी भनेर एक लाख ८२ हजार २ सय २७ ‘असुलउपर गरी प्रतिवादीबाट भराइपाऊँ’ भन्दै सुर्जमानले ०७८ मंसिर ९ मा निवेदन दिएका थिए ।
यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा ललितपुरका सुर्जमान मिटरब्याजी पक्राउ







प्रतिक्रिया दिनुहोस्