कठमडौं १८ साउन । नेकपा मओवादी केन्द्रको जारी बैठकको प्रारम्भिक छलफलमा एमालेको मागअनुसार सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउने मागको विपक्षमा केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
उपमहासचिव वर्षमान पुनले पदाधिकारी बैठकमै आफू आयोग बनाएर छानबिन गर्नुपर्ने पक्षमा रहेको धारणा राखेका थिए । अर्का उपमहासचिव जनार्दन शर्माले भने आयोग बनाउने कुराको औचित्य नभएको भन्दै त्यसले राज्य र सरकारका निकायहरूमाथि नै अविश्वास र प्रश्नचिह्न खडा गर्ने बताए । केन्द्रीय रामप्रसाद सदस्य सापकोटाले उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएर आए पनि प्रहरी र राज्यका निकायमा उजुरी नपरेका कारण आरोपकै भरमा अभियोग करार गर्न नमिल्ने बताए ।
‘जहाँसम्म महरा र उहाँको छोराको नाम जोडिएर चर्चा भइरहेको छ, नेपाल प्रहरीमा या राज्यका निकायमा उजुरी त परेको छैन । उजुरी नै नपरेको, मिडियामा लेखेको भरमा मात्र अभियोग करार गर्न मिल्दैन । त्यो आरोपसम्मको कुरा हो,’ उनले भने, ‘यो माओवादीलाई तर्साउन खोजिएको हो, माओवादी तर्सिनुहुन्न र झन् दृढ भएर अगाडि जानुपर्छ । मूल जालो तोड्न लाग्नुपर्छ । प्रधानमन्त्रीले पनि त्यसका लागि थप दृढता व्यक्त गर्नुभएको छ ।’
बैठकमा पहिलो दिन बोल्ने १८ जनै केन्द्रीय सदस्यहरुले सरकारले भ्रष्टाचारका विरुद्ध चालेका कदमको प्रशंशा गर्दै त्यसकै बलमा पार्टी निर्माण गर्नु पर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्