काठमाडौं, २३ माघ । माओवादी निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सिद्धान्त छाडेर नेकपा एमालेसंग पार्टी एकता नगर्न माओवादी केन्द्रलाई दबाब दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले माओवाद र पहिचानका मुद्दालाई छाडेर एकता नगर्न मोर्चाले माओवादी केन्द्रलाई सुझाएको हो।
मोर्चाले पर्टी एकता गर्दा सबै पक्षले गरेको संघर्षलाई भुल्न नहुने बताएको छ । मोर्चाका अध्यक्ष राजन किरातीले पछिल्लो समय दुई पार्टीबीच एकताका क्रममा सिद्धान्त त्याग्ने बहस चलिरहेको भन्दै सिद्धान्त त्यागेर एकता गरे आफूहरू सोच्न बाध्य हुने चेतावनी दिए।
उनले भने, ‘सिद्धान्त त्यागेर पार्टी एकता हुने सिद्धान्त चलिरहेको छ। यो हामीलाई मान्य हुँदैन। पदका लागि मात्र एकता गरेर हुँदैन।’ जातीय, वर्गीय, क्षेत्रीय र लैंगिक विभेद अन्त्य गर्न गरेको संघर्षलाई संस्थागत गरेर अघि बढ्ने समयमा मुद्दा नै त्याग्न नहुने उनले बताए।
उनले भने, ‘हामीले पहिचानका लागि धेरै संघर्ष गरेका छौँ। हाम्रै पार्टीका कारण देशमा यति परिवर्तन भएको छ। अब यसलाई संस्थागत गर्ने बेलामा त्यागेर पार्टी एकता गर्न सकिँदैन।’
उनले भने, ‘एमालेको जनताको बहुदलीय जनवाद भनेको सिद्धान्त होइन। यो एउटा कार्यक्रम हो।’ पार्टी एकता भइहाले वर्गीय क्षेत्रीय, जातीय र लैंगिक समस्या समाधानका लागि वैज्ञानिक विचारको रूपमा स्थापित मुद्दालाई छाडेमा आफूहरू एकता प्रक्रियाबाट अलग हुन सक्ने संकेत पनि उनले गरे।
मोर्चाका महासचिव अर्जुन किरातीले चुनावी तालमेलले मात्र एकता हुन नसक्ने बताए। उनले भने, ‘स्थानीय तहमा कांग्रेससँग पनि तालमेल त गरेका थियौँ। पार्टी एकता गर्नलाई त सिद्धान्त पनि त मिल्नुपर्यो नि१’ उनले पार्टी एकता अहिलेको आवश्यकता भएको भए पनि पहिचानलाई नामेट गरेर एकता गर्न नहुने तर्क गरे।
उनले सिद्धान्त त्यागेर पार्टी एकता गरे आफूहरूलाई मान्य नहुने बताए। उनले भने, ‘मोर्चा पहिला पनि गोपाल किरातीको नेतृत्वमा माओवादीमा आएको हो। यदि सिद्धान्त भुलेर एकता गर्ने हो भने हामी अलग हुन पनि सक्छौँ।’ सिद्धान्त त्यागेर एकता भएमा एकतालगत्तै मोर्चाले निर्णय लिने बताए। ‘हामी एकताविरोधी त होइनौँ, तर यदि सिद्धान्तलाई भुलेर एकता गरियो भने तत्काल मिटिङ बसेर हामी निर्णय गछौँ’, उनले भने ।
प्रदेश १ लाई किरात प्रदेश बनाउनुपर्ने माग
मोर्चाले प्रदेश १ लाई पहिचानका आधारमा किरात प्रदेश नामाकरण गर्नुपर्ने माग गरेको छ। मोर्चाका अध्यक्ष राजन किरातीले किरात पहिचान भनेको कुनै जातिको मात्र पहिचान नभई समग्र प्रदेश १ वासीकै पहिचान भएको बताए। यसका लागि प्रदेश १ का सांसद, पार्टीका नेता, सामाजिक संघसंस्थासँग छलफल र अन्तर्क्रिया गर्ने बताए। उनले प्रदेश १ को स्थायी राजधानी उदयपुरको बेलका र सुनसरीको बाराहक्षेत्रमा हुनुपर्ने माग गरे। ‘विराटनगर सुरक्षाका हिसाबले ठीक नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्