काठमाडौं ७ साउन। संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा सहभागी नेकपा एमालेका सचेतक महेश बर्तौलाले अब निर्वाचनको सूचना प्रकाशित हुनेछ भन्दै सबै समितिले नेतृत्व पाउने सुनिश्चितता भएको बताए ।
बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्