भक्तपुर, २४ माघ । मिनिट्रकको ठक्करबाट आज बिहान मृत्यु भएका पीडितका परिवार र आफन्तले दोषीलाई कारबाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन् ।
दिउँसो दुई बजेदेखि पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरी वृत्त थिमि घेराउ गरेको पीडितपक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत थिमि चारदोबाटो पनि बन्द गराएका छन् । काठमाडौँबाट भक्तपुर र पूर्वतर्फ जाने सडक बन्द भएपछि सवारी आवागमन अस्तव्यव्स्त बनेको छ । साँझपख सयौँ यात्रुहरु अलपत्र परेका छन् ।
बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मर्निङ वाक गइरहेका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने वर्ष ६६ को जगतकुमार श्रेष्ठलाई जेब्रा क्रसिङमा काठमाडौँबाट भक्तपुर आउँदै गरेको बा २ ख ८००६ नं को मिनीट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो ।
तीव्रगतिमा आएको मिनिट्रकले ठक्कर दिँदा शव क्षतविक्षप्त अवस्थामा रहेको मृतकका माइला छोरा श्यामले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठक्कर दिने मिनी ट्रकका चालकलाई कडा कारबाही गर्नुपर्छ, घट्नाको निष्पक्ष छानबिन हुनुपर्छ, यसबारेमा सवारी धनीसँग हाम्रो छलफल र वार्ता हुनुपर्छ भन्ने माग हो, दिनभरी प्रहरीलाई सवारी धनीलाई बोलाइदिन आग्रह गर्दा प्रहरीले अटेर गरेपछि बाध्य भएर प्रहरी वृत्त घेराउ गरी दुवै सडक बन्द गराएका हौँ ।”
प्रहरीले मिनीट्रक र चालक जिल्ला काभ्रे सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने वर्ष २९ को प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत ठिमीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेको र चालकलाई पक्राउ गरिसकेको अवस्थामा सडक बन्द गरिएको बताउँदै सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्