काठमाडौ, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बनाउँदाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्र देश अस्थिरताबाट जोगिने बताएका छन् । गणेशमान सिंहको २६औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवतीमा उनको सालिकमा माल्यार्पण गर्दै सिंहले यस्तो बताएका हुन् ।
सरकार गठन हुँदा गरिएको समझदारीलाई सबै दलहरूले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने उनले उल्लेख गरे । उनले समाजमा रहेका कमी–कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए ।
पार्टीभित्र अहिले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा बलियो भए पनि केन्द्रीय समितिले गरेका निर्णय आधिकारिक हुनेमा उनले जोड दिए ।
“यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रूपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरूबीचको समझदारी हो, त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी–कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ,”
उनले भने, “गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्ने कुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।”
नेता सिंहले संविधानको भावना र मर्मअनुरूप चाँडोभन्दा चाँडो तीन तहका सरकारलाई अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्