ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्रको अर्थ बुझ्न र अनुभूत गर्न बाँकी नै छ : राष्ट्रपति पौडेल


एबीसी न्यूज
३ आश्विन २०८०, बुधबार   ६ : १९   बजे

काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले गणतन्त्रको अर्थ बुझ्न र अनुभूति गर्न बाँकी नै रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सर्वोत्तम उपलब्धी गणतन्त्र प्राप्त गरे पनि त्यसलाई अनुभूत गर्न बाँकी नै रहेको बताएका हुन् ।

‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँंकी छ’, उनले भनेका छन् ।

राजनीतिक व्यवस्था परिवर्तन भए पनि देश, समाज र जनसामान्यको अवस्था परिवर्तन हुन नसकेको भन्दै राष्ट्रपति पौडेलले राज्य पुनर्संरचनामार्फत तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगे पनि राज्यको चरित्रको भने पुनर्संरचना हुन बाँकी रहेको बताए ।

जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीं, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने राष्ट्रपति पौडेलले बताए । ‘संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ रु यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु’ राष्ट्रपति पौडेलले भनेका छन् ।

हेर्नुहोस् राष्ट्रपतिको सम्बोधनको पूर्णपाठ

सम्माननीयज्यूहरू
माननीयज्यूहरू
उपस्थित महामहिम राजदूतज्यूहरू
आदरणीय दिदीबहिनी दाजुभाइहरू

आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु ।

आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।

हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौं । अहिले हामीसँग आफैँले बनाएको संविधान छ । वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको छ ।

हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो । अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो ।

तर यहाँ व्यवस्था त परिवर्तन भयो हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन सकको छैन् । हामीले प्रशासनिक रुपमा राज्यको पुनः संरचना गर्‍यौ । तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ । तर, राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी छ ।

राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘‘गणतन्त्र’’ हामीले प्राप्त गरेका छौ । तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँंकी छ ।

लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भई अहिले संविधानतः तीनैतहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।

हाम्रो देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना हाम्रो अगाडि छ । यो निकै महत्वपूर्ण अवसर हो । तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ ।

अहिले जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीं, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा हामी सचेत हुनैपर्छ । जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ रु यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु ।

कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन रु मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।

हाम्रो सुखद भविष्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन । हिमाल पहाड तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहुसंस्कृति र विभिन्न सम्प्रदायलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन् भन्ने मेरो विश्वास छ ।

हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित संभावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हाम्रो जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको छ ।

सुशासन नै हाम्रो अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता छ । यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न म सबैमा आग्रह गर्दछु ।

जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले हाम्रो देश र विश्वलाई अत्यन्तै बढि प्रभावित पारिरहेको छ । त्यसैले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि विश्व समुदायलाई साथ लिदैँ अगाडि बढ्नु अहिलेको अर्को महत्वपूर्ण आवश्यकता हो ।

समयले हामीलाई जुन दायित्व दिएको छ, त्यो दायित्व पुरा गर्न तथा राज्यव्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकतावद्ध बनौँ र यसका लागि आजै ऐतिहासिक संकल्प गरौँ ।
सबैलाई धन्यवादसहित । जय नेपाल १

रामचन्द्र पौडेल
२०८० असोज ३ गते

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group