काठमाडौ ११ असोज । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल महेशको निधन भएको छ । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गरेर उम्किएका उनी निमोनियाबाट पीडित थिए ।माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए ।
स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनियाले गलाउँदै लगेपछि बडुवाललाई काठमाडौंमा उपचार गर्न ल्याउने प्रयास पनि असफल भएको थियो । बिरामीलाई जहाजबाट ल्याउन कर्मचारीले खतरा देखाएपछि उनलाई स्थल मार्गबाट लखनउ लैजाने क्रममा निधन भएको बताइएको छ ।स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन खोजिए पनि सम्भव नभएपछि लखनउतर्फ लगिएको थियो ।माओवादीका धेरै केन्द्रीय नेता र मन्त्रीहरूलाई भन्दा पनि हेलिकोप्टरको व्यवस्था हुन नसकेका कारण एकजना नेताको उपचार नपाएर निधन भएको स्थानीय माओवादी कार्यकर्ताहरूको गुनासो छ ।
हेलिकोप्टरका लागि गृह मन्त्रालयदेखि माओवादीका पहुँचवाला नेतालाई भन्दा पनि बेवास्ता गरेको आरोप छ ।दुःखद संयोग मान्नुपर्छ ०७१ साल असोज २० गते असोज महिनामै डोटीको कटकटेमा भएको बस दुर्घटनामा बडुवालले पत्नी र एक छोरा गुमाएका थिए ।
सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो ।
बडुवालसँग निकट सम्बन्धमा रहेका पत्रकार दीपेन्द्र रावलका अनुसार निमोनियाले गलाउँदै लगेपछि उनलाई काठमाडौंमा उपचार गर्न ल्याउने भनेर नेपालगञ्ज एयरपोर्टसम्म ल्याइएको थियो । बडुवाल सुदूरपश्चिममा जनसम्बन्ध राम्रो भएका नेताको रुपमा पार्टीभित्र चिनिन्छन् । उनी २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका भाइ हुन् ।







प्रतिक्रिया दिनुहोस्