काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच ७५ वर्षदेखि जारी तनाव फेरि अर्को युद्धका रूपमा विस्फोट हुँदा नेपाली नागरिकसमेत घानमा परेका छन् । गाजामा रहेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा गोलाबारी गर्दा कम्तीमा १० नेपाली विद्यार्थीको ज्यान गएको छ भने केही घाइते भएका छन । रोजगारी र सीप सिक्न कैयन् नेपाली इजरायलमा छन । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिनमा कृषिसम्बन्धी प्रयोगात्मक सिकाइका लागि एक महिनाअघि मात्र पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी शनिबार बिहान हमासको आक्रमणमा परे । हमासले शनिबार बिहान इजरायलविरुद्ध अहिलेसम्मकै ठूलो आक्रमण गरेको हो । उसले इजरायली कब्जा अनियन्त्रित ‘अपरेसन अल–अक्सा फ्लड’ सुरु भएको जनाएको छ । हमासले शनिबार बिहान अचानक एकसाथ करिब पाँच हजार रकेट प्रहार गर्नुका साथै दक्षिणी इजरायलभित्र प्रवेश गरेर आफ्ना सैनिक तथा नागरिकलाई बन्धक बनाएपछि इजरायलले ‘युद्धको अवस्था’ घोषणा गरेको छ । जवाफी हमलामा उत्रिएको इजरायलले यो युद्ध लामो र कठिन हुने भन्दै प्यालेस्टाइनले अहिलेसम्म अनुमानसमेत नगरेको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
इजरायलले प्यालेस्टाइनी सहर गाजालक्षित आक्रमण तीव्र बनाइरहेको छ । दुवैतिर हताहती हुनेको संख्या १२ सय भन्दा नाघिसकेको छ । अहिले दुवैतर्फको आक्रोश हेर्दा यो संख्या कैयौं गुणा बढ्ने स्थिति छ । यसले विश्वलाई फेरि ध्रुवीकृत गर्ने, साधन र स्रोत युद्धमा खर्च हुने र अमूल्य मानवजीवन पनि होमिने स्थिति छ । इजरालयमाथि हमला भएपछि उसको समर्थनमा अमेरिका, जर्मनी, फ्रान्सलगायतका पश्चिमा देशहरू खुलेर अगाडि आएका छन । उनीहरूले इजरायललाई आवश्यक सम्पूर्ण सहयोग निःसर्त दिने घोषणा पनि गरेका छन । यता साउदी अरब र कतारजस्ता देशहरूले इजरायलकै आक्रमकताका कारण यो हिंसा भएको टिप्पणी गरिसकेका छन । हमासको आक्रमणप्रति समर्थन जनाउँदै इरानमा ¥यालीहरू नै भएका छन । इरानको समर्थनप्राप्त लेबनानी इस्लामिक सैन्य समूह हिजबुल्लाहले आइतबारै इजरायलको पश्चिमी क्षेत्रमा रकेट प्रहार गरेर स्थिति थप तनावपूर्ण बनाइदिएको छ । हमासले पनि आक्रमण गर्न आफूहरूलाई इरानको प्रत्यक्ष सहयोग रहेको जनाइरहेको छ । वर्षौंदेखि भूराजनीतिक भुमरीमा परेको त्यस क्षेत्रमा युद्ध चर्कंदै जाँदा क्षेत्रीय ध्रुवीकरण बढ्ने सम्भावना देखिँदै छ । साढे सात दशकअघि स्वतन्त्र मुलुकका रूपमा इजरायल स्थापित भएदेखि नै प्यालेस्टाइनसँग संघर्ष चल्दै आएको छ । यो संघर्ष भूमिसँग मात्र सम्बन्धित छैन, धर्मसँग जोडिएको छ । दीर्घकालीन शान्तिका लागि संयुक्त राष्ट्रसंघलगायत निकायले पटक–पटक प्रयास गरेका पनि हुन् तर मुख्य गरी इसाई, इस्लाम र यहुदी तीनै थरीको महत्त्वपूर्ण धार्मिकस्थल जेरुसेलमका कारण निकास निस्कन सकेको छैन । जेरुसेलमलाई धार्मिक प्रतिष्ठाको विषय बनाएर सजिलै गुमाउन वा अरू कसैको नियन्त्रणमा पार्न कुनै पनि पक्षले चाहेको छैन । धार्मिक–राजनीतिक स्वार्थका कारण यसरी युद्धहरू हुँदै गर्दा निहत्था मानिसले ज्यान गुमाउँछन । यसैपालि हमासले आक्रमण गर्दा युद्धसँग कुनै साइनो नभएको नेपालका नागरिकले ज्यान गुमाए । इजरायल–प्यालेस्टाइन युद्ध नरोकिए त्यसको बाछिटा कहाँसम्म पुग्छ भन्ने सहजै अनुमान गर्न सकिदैन ।
यो देशले यतिबेला प्रार्थना गरिरहेको छ । सारा नेपालीले पशुपतिनाथ पुकारेर भनिरहेका छन्, ‘भगवान् इजराइलमा रहेका नेपालीलाई केही नहोस् । युद्ध साम्य होस्, सबै सकुशल रहेको खबर सुन्न पाईयोस् ।’ तर ‘हुनाहार दैव नटार’ भनेजस्तै यहीँ प्रार्थना र पुकारकैबीच १० नेपाली विद्यार्थी हताहती भएका छन् । इजराइल र प्यालेस्टाइनी आतंकवादी समूह हमासबीचको युद्धको भुङग्रोमा नेपाली परे । इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन । अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनिहरुले गुनासो गर्दै आएका छन् । यता सरकारले भने बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन गरेर, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन दिएका छन् । हमासले इजारयली सैनिक तथा निहत्था नागरिकलाई नियन्त्रणमा लिएको छ ।
इजरायलका अनुसार हमासले १०० जना भन्दा बढीलाई अपहरण गरेको छ । हमासले इजरायली सैनिक तथा नागरिकलाई नियन्त्रणमा लिएको दृश्य पनि देख्न सकिन्छ । इजरायली आकाशमा रकेट देखिएको केही घण्टामै सयौँ इजरायलीले ज्यान गुमाए । हमासबाट यो तहको हमला कसैले पनि संभव सोचेका थिएनन् । इजरायली सेनालाई प्रतिरक्षाकालका लागि केही समय लागेको थियो ।हमासको त्यो गतिको आक्रमणले इजरायल अचम्ममा परेको छ । अन्तर्राष्ट्रिय समुदायहरूले पनि अकल्पनीय भनेका छन् । इजरायलले वर्षौसम्म हमासको हमलालाई लिएर प्रश्न खेप्नुपर्नेछ । तर अहिलेको स्थिति बारे प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले प्रस्ट शब्दमा भनेका छन्, ‘हामी अहिले युद्धको स्थितिमा छौं ।’युद्धका लागि हमासले रोजेको समय संयोग थियो वा नियोजित भन्ने पनि क्रमशः खुल्दै जाला । किनभने अरब र इजरायलबीच पहिलो युद्ध ६ अक्टोबर १९७३ मा भएको थियो, यो मिति इतिहास भइसक्यो । संयोग २०२३ को अक्टोबरमा युद्ध जारी छ । आइतबार मात्र इजिप्टमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । युद्धमा सामेल नै नभएको व्यक्ति यसरी मारिँदै जानु दुर्भाग्यपूर्ण छ । आकाशमा रकेट पड्किरहेको समयमा हमासका सशस्त्र सेना गाजामा इजरायलले लगाएको तारबार तथा पर्खाललाई तोड्दै भित्र छिरेको दृश्यहरूमा देख्न सकिन्छ ।
इजरायलको घरेलु गुप्तचर निकाय सीन बेट, बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासले यसलाई रोक्न सकेन । सीमामा हुनसक्ने संभावित टकराव र भिडन्तलाई मध्येनजर गर्दै इजरायलले उसको नियन्त्रणमा रहेको गाजामा सेन्सर तथा क्यामेरा लगाएको छ । तर केही घण्टामै त्यस्ता प्रविधिले समेत सुइँको नपाउनेगरी हमासका लडाकु बाक्लो सङ्ख्यामा इजरायली भूमिमा प्रवेश गरे । केही हमास लडाकु प्याराग्लाइडरबाट पसेको दृश्य पनि सार्वजनिक भएका छन् । इजरायली सेनाको प्रयासका बाबजदुत हमास इजरायली इलाकाभित्रै प्रवेश गरेर हमला गरेको हो । हमासका लडाकु इजरायलीले लगाएको तारबारलाई काटेर मोटरसाइकलमा भित्र छिरेको दृश्य पनि सार्वजनिक भएका छन् । पाँच वटा मोटरसाइकलमा हमास लडाकु भित्र छिरेको केहीबेरमा त्यहाँ डोजरले तारबार भत्काएको थियो ।त्यहाँबाट प्रवेश गरिसकेपछि बुलेटप्रुफ ज्याकेट लगाएर आठ जना हमासका लडाकु इजरायली सैनिकतर्फ अघि बढ्छन् र इजरायली सैनिकमाथि आक्रमण पनि गर्छन् । हमास लडाकुको आक्रमणको दृश्य हेर्दा उनीहरू तालिमप्राप्त देखिन्छन् ।गाजा क्षेत्रमा सातवटा आधिकारिक क्रसिङ छन् । जसमा ६ वटा इजरायल र एउटा इजिप्टको नियन्त्रणमा छन् । केही घण्टामै हमासका लडाकु ६ वटै क्रसिङमा भेलमा हुन्छन् ।
हमासका लडाकुले गाजालाई पूर्ण रूपमा घेर्न सफल भएका देखिन्छन् । उनीहरूलाई धपाउनका लागि इजरायलले २७ स्थानबाट हमला जारी राखेको छ । यहुदी धर्ममा हप्ताको सातौं दिन अर्थात् शनिबार विश्रामको दिन हुन्छ । अझ यसपटक त यहुदीहरूको पवित्र धार्मिक चाड पनि थियो । परिवारसँग चाड मनाउने तयारी गरिरहँदा इजरायली आकाशमा अप्रत्याशित रूपमा रकेटहरू देखापरे । अझ भनौं, हमला सुरु हुँदा धेरै इजरायली निद्रामा थिए । इजरायलले वर्षौंदेखि आफ्नो रक्षा संयन्त्र गाजा क्षेत्रमा केन्द्रित गरेको छ । ऊसँग विश्वकै खतरा जासुसी संयन्त्र मोसाद छ भने रकेट रोक्नका लागि अत्याधुनिक प्रविधि । विभिन्न तनाव, टकराव र द्वन्द्वकाबीच इजरायल सुरक्षित रहेको धेरैको विश्लेषण थियो । तर हमासले बिजुली गतिमा कसैले नसोचेको हमला गरेपछि इजरायली सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठेका छन् । उसको सैन्य रणनीतिमा राम्रै त्रुटि रहेको व्यवहारले नै पुष्टि गरेको छ । मिसाइल आक्रमणलाई निष्प्रभावी बनाउने इजरायली रक्षा प्रणालीले समेत हमासको रकेट हमलालाई रोक्न सकेन । इजरायललाई तर्साउन परेमा हमासले बेलाबखत इजरायली आकाशमा रकेट छोड्थ्यो । यसपटक उसले पाँच हजारभन्दा बढी सङ्ख्यामा रकेट प्रहार ग¥यो । हमासको आक्रमणको रणनीति हेर्दा उसले लामै समयदेखि योजना बनाइरहेको प्रस्ट देृखिन्छ । संसारका कुनै पनि मुद्दा युद्धबाट वारपार भएको दृष्टान्त विरलै छ । बरु वार्ता–संवादबाट युद्धलाई शान्तिमा रूपान्तरण गरिएका उदाहरण प्रशस्त छन । सैन्य शक्तिका हिसाबले बलियो मानिने रुसले त युक्रेनमाथि आक्रमण थालेको दुई वर्ष हुन लाग्दा पनि वारपार कता हुने हो भन्ने यकिन हुन सकेको छैन । त्यसको असर भने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सिङ्गो विश्वले भोगिरहेको छ । अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमा तालिबानमाथि आक्रमण गरेर परास्त गरेको थियो तर अमेरिकी फौज फिर्ता हुनासाथ तालिबान सत्तामा आएको छ अर्थात् हजारौं मानिसको हताहती र अर्बौं खर्चपछि त्यहाँको स्थिति पूर्ववत् अवस्थामै पुगेको छ । इजरायल र प्यालेस्टाइनले पनि आपसी संघर्षबाट केही पाएका छैनन्, गुमाइरहेका मात्र छन । यसबाट पनि दुवै पक्षले पाठ सिक्न सक्नुपर्छ र वार्ता–संवादमार्फत दीर्घकालीन शान्तिको खोजी गर्नुपर्छ । यसमा विश्व समुदायले पनि दबाब र सहजीकरण गर्न सक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्