काठमाडौं, २४ असोज । विद्युतीय सिगरेट भेप मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् ।
चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको उनले स्वीकारेका छन्, तर सुन तस्करीमा संलग्नता भने अस्वीकार गरेका छन् । उनले भेपभित्र सुन रहेको कुरा समेत मिडियामा आएपछि मात्रै थाहा पाएको भनेका छन् ।
सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले पुरानो चिनजान भएका साथी चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको बताएका छन् ।
जिल्ला अदालत, काठमाडौंमा दर्ता अभियोग पत्रमा समावेश बयानमा उनले भनेका छन्, ‘साथीको भेप त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ, मिल्दैन बुझिदिनुपर्यो भनेर अनुरोध गरेकाले मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ ।’
प्रतिक्रिया दिनुहोस्