काठमाण्डौ ३ कार्तिक। गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणालाई प्रतिद्धन्दी आरके शर्मा र महेश श्रेष्ठले चुनौति दिएका छन् ।
केसीसँग प्रतिस्पर्धा गरेका उनीहरुले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।
महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाण्डौबाट झरेको मत सून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । आफैले आफैलाई भोट नहाल्ने अबस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश ब्यक्त भएको हो ।
पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् ।
भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।
राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमथैन गरेकी थिइन् ।
निर्वाचनमा बद्रि केसी १३७८ मत ल्याएर बिजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् ।
मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यतिमात्र हैन यसमाथि गम्भिर छानविन हुनुपर्छ र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।
अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ सून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडी बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्टाइएको उनको भनाई छ ।
उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफुलाई जिताइएको भएपनि यो जितलाई स्वीकार नगर्ने बताए । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।
डा. बद्री केसी दुई बर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचना प्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटावेश र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो । प्रतिस्पर्धी दुई उम्मेदवारले यसपटक प्रतिनिधि छनौट र अनलाइन भोटिङमा बद्रीले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रकृया मूलतः बद्रीको नियन्त्रणमा थियो ।
कुन पदमा कसले कति मतले ल्याएर जिते (सूची)
बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
डा.केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरृका निर्वाचन समितिले जनाएको छ।
काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो।
संगठनको उपाध्यमा डा। हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा.विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।
यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।
संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन्।
यस्तै उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मतसहित विजयी भए।
६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन्।
महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन्। सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे।
यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन्।
यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।
प्रतिक्रिया दिनुहोस्