काठमाडौँ, २८ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् ।
पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने स्थिति आएको हो ।
ट्राफिक चाप बढेका कारण हेटौँडा, नौबिसे, नगरकोट, बनेपामाथिको आकाशमा जहाज होल्ड गर्नुपरेको विमान कम्पनीले जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले पार्किङ र जहाजको चापका कारण लामो समयसम्म जहाज आकाश नै उडाइराख्नुपर्ने समस्या देखिएको बताउनुभयो ।
फागुन मसान्तसम्म विमानस्थलमाथि बाक्लो हुस्सु लाग्ने गरेका कारण बिहानको समयमा समेत जहाज अवतरण गर्न समस्या पर्ने गरेको छ ।
विमानस्थलको पार्किङस्थलमा नौ वटा जहाज बिसाउन सकिन्छ भने आन्तरिकतर्फ मिलाएर राख्दा बढीमा ३५ जहाज पार्किङ गर्न सकिन्छ । स्थान अभावका कारण लामो समयसम्म जहाज आकाशमै उडाइराख्दा यात्रुमा मानसिक समस्या देखिने खरता रहेको भए पनि पूर्वाधारको अभावमा समस्या समाधान गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।
ट्राफिक समस्या धेरै देखिने भएका कारण विमानस्थलले एकै समयमा जहाज उडान तथा अवतरण नगर्न विमान कम्पनीलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाज लामो समय आकाशमै उडाइराख्दा त्यसबाट नकारात्मक असर पर्ने भएकाले अवतरण व्यवस्थापनको लागि हदैसम्मको प्रयास गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो पटक दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि जहाज व्यवस्थापनमा केही सहजता आएको बताइन्छ । पछिल्ला दिनमा कतार एयरलाइन्स सबैभन्दा बढी होल्डमा पर्ने गरेको बुझिएको छ ।
अत्यधिक ट्राफिक जाम हुँदा अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजलाई धार्के, बनेपा, मकवानपुरको आकाशमा होल्ड गर्नुपरेको छ । अत्यधिक मात्रामा स्वदेशी तथा विदेशी विमान कम्पनीले नियमितरुपमा उडान थप्दै गए पनि विमानस्थल विस्तार गर्नेतर्फ हालसम्म कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।
‘एयर ट्राफिक’ जाम कम गराउन विमानस्थलको दक्षिणतर्फ दुई र पूर्वतर्फ समेत ‘पार्किङ वे’ थप गर्न लागिएको पनि लामै समय भइसक्यो ।
नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले विमानस्थलको क्षमता नबढेका कारण निजी क्षेत्रलाई व्यापार प्रवद्र्धन गर्दै नागरिक उड्डयन सेवा सहज रुपमा प्रदान गर्न पनि कठिनाइ भएको बताउनुभयो । यो समस्या समाधानका लागि वैकल्पिक उपाय खोजिनुपर्ने उहाँको सुझाव छ ।
हाल विभिन्न ३० विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यस्तै आन्तरिकतर्फ १८ कम्पनीले उडान गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्