ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामाबगर नाकाबाट यसरी गरियो ३३ किलो सुन तस्करी


एबीसी न्यूज
६ मंसिर २०८०, बुधबार   १ : ००   बजे

काठमाडौं, ६ मंसिर । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्र्याइएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्र्याइएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी गरिएको खुलेको छ । सुन तस्करीमा संलग्न १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

सुन तस्करीमा संलग्न व्यक्तिका बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्र्याइएको खुल्न आएको उनले बताए ।

तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

दोलखा प्रहरी र सीआईबीका अधिकारीसहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सुन तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार ५९३ युनिट यूएसडीटी भुक्तानी गरेको देखिएको छ । सो युनिट यूएसडीटीको नेपाली कारोबार मूल्य करिब तीन खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । नेपालमा क्रिप्टोकरेन्सी यूएसडीटीको कारोबार प्रतियुनिट मूल्य १३३ देखि १३८ रुपैयाँसम्म अवैध रूपमा कारोबार हुँदै आएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट खटिएका प्रहरी निरीक्षक रामकृष्ण पाठकका अनुसार सो रकम विभिन्न १२ डिजिटल वालेटको प्रयोग गरी क्रिप्टोमार्फत भुक्तानी गरिएको हो । यसरी भुक्तानी गरिएको रकम सुनसँगै अरू तस्करीसँग पनि जोडिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा सो गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गराएर तस्करी गरेको देखिएको छ । तिब्बतबाट अवैध रूपमा सुन नेपाल भित्र्याई काठमाडौं लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई सिलबन्दी गरी ‘प्याक’ गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पाठकले बताए ।

सो समूहले एक वर्षको अवधिमा सात लाख ६० हजार अमेरिकी डलर अर्थात् १० करोड ११ लाख १८ हजार रुपैयाँ डोरीमा बाँधेर खोला तारी चिनियाँलाई भुक्तानी गरेको देखिएको छ । वि।सं। २०७९ मंसिरदेखि कात्तिक ८ गतेसम्म एउटै समूहले ६ पटक गरी ३३ किलो सुन भित्र्याएको अनुसन्धानबाट खुलेको छ ।

दोलखाका प्रहरी प्रमुख खड्काले भने, “१२ जना अझै फरार छन् । उनीहरू पक्राउ परेपछि तस्करीमा संलग्न व्यक्ति थपिन सक्छन् । उनीहरूलाई पूरक अभियोग लगाइनेछ ।”

प्रहरीले लामाबगरको फलाक नाकाबाट भित्र्याइएको ३३ किलोमध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानका क्रममा ५३२ ग्राम सुनका गहना बरामद गरेको थियो । सो सुनको मूल्य १० करोड ६८ लाख ६८ हजार ७६१ रुपैयाँबराबर रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिबाट १८ लाख ३३ हजार ५०० रुपैयाँ नगद बरामद गरेको थियो । उनीहरूका नाममा विभिन्न बैंकमा रहेको ३१ लाख ७४ हजार ६६५ रुपैयाँ रोक्का राखिएको छ ।

दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक ग्याङ रु र आकर लामासहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । तीमध्ये एक बालकलाई हाजिर जमानीमा रिहा गरियो । बाँकी १४ जनालाई हिरासतमा राखी करिब दुई महिना अनुसन्धान गरिएको थियो ।

दोलखा प्रहरी र सीआईबीको टोलीले सुन तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदनसहित पक्राउ परेकालाई जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको छ । उनीहरूउपर भन्सार ऐन, २०६४, संगठित अपराध निवारण ऐन, २०७०, नेपाल राष्ट्र बैंक ऐन, २०५८, बालबालिकासम्बन्धी ऐन, २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सुन तस्करीमा संलग्न भई फरार रहेका अरू १२ जनाको खोजी भइरहेको र उनीहरू पक्राउ परेपछि पूरक अभियोग लिएर जाने प्रहरीका अनुसन्धान अधिकारीले बताएका छन् ।

सुन तस्करीको अनुसन्धानमा संलग्न सीआईबीका प्रहरी निरीक्षक पाठकका अनुसार क्रिप्टोमार्फत १२ डिजिटल वालेट प्रयोग गरी भएको भुक्तानी सम्भवतः अहिलेसम्मकै ठूलो रकम हो । यो विषय पक्राउ परेकाहरूको डिजिटल इक्विपमेन्टको फरेन्सी ल्याब परीक्षणबाट खुलेको हो । क्रिप्टोकरेन्सीको ब्रोकरका रूपमा काम गरेकी महिमा माझीको डिजिटल फरेन्सी ल्याबको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group