काठमाडौं ६ मंसिर । विवादित व्यवसायी दुर्गा प्रसाईं र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघले मंसिर ७ गते बिहीबार एकैदिन काठमाडौँमा प्रदर्शन गर्ने भनिएको छ । युवासङ्घले महँगी, भ्रष्टाचार, अराजकता, राज्यको अकर्मण्यता, सामाजिक र धार्मिक सहिष्णुता र सदभाव भड्काउने आपराधिक गतिविधिविरुद्ध आन्दोलन गर्ने बताएको छ । यता प्रसाईँ समुहले हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक सङ्कटका कारण आत्महत्या गर्नुपर्ने अवस्था आएको भन्दै बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका माग अघि सारेका छन् ।
प्रसाईँ र युवासङ्घले विहीबार एकैदिन काठमाडौंमा प्रदर्शन घोषणा गरेपछि दुई समुहबीच मुडभेडको आशंका गरिंदा उनीहरुको प्रदर्शनबारे बढी चर्चा भएको छ । दुवै प्रदर्शन अलग अलग विषयलाई लिएर गर्न लागिएको भनिएपनि दुबै पक्षले एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् । प्रदर्शनलाई लिएर सरकारले सुरक्षा व्यवस्थामा कडिकडाउ बनाउनतर्फ लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संभावित दुर्घटनालाई ध्यानमा राखेर प्रदर्शनस्थल माइतीघर र आसपासको क्षेत्रमा ३० दिन लामो निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यससँगै उसले दुवै पक्षलाई प्रदर्शन गर्न पाउने अलग अगल स्थान समेत तोकिदिएको छ ।
प्रसाईंले लाखौं जनता उतारेर लघुवित्तको ऋणको नाममा उनको ऋण पनि मिनाहा गराउने चाहना राखेका छन् । त्यसका लागि उनले देशकाभित्र झण्डै २८ वटा राजावादी र परिवर्तनविरोधी संघ, संस्था र झुण्डको समर्थन लिएका छन् । हिन्दूवादी पण्डित, बद्नाम दरबारिया पात्रहरु प्रसाईंको पछि लागेका छन् । राप्रपाका जिल्ला स्तरका कार्यकर्ताहरु समेत आफ्नो नेता राजेन्द्र लिंङदेन भन्दा दुर्गा प्रसाईंको पछि लागेपछि सरकारले प्रसाईंका पछि नेपालमा धर्म निरपेक्षता नचाहनो विदेशी हिन्दूवादी शक्तिहरुको हात रहेको विश्लेषण गरेको छ ।
प्रसाईंले देशभरबाट मानिसहरुलाई उक्साएर काठमाडौं ल्याउनका लागि २५ देखि ३० करोड रुपैयां खर्च गर्न लागेको सार्वजनिक रुपमा नै बताएका छन् । विभिन्न युट्युुवका उनका भनाईमा उनले भारतीय अतिवादी समूहहरुबाट ठूला धनराशी ल्याएर देशमा अस्थिरता मच्चाउन लागेको संकेत मिल्छ । उनले चन्दा संकलनका नाममा सानिमा बैंकमा रहेको आफ्नो खाताको क्यूआर कोड बांडेर त्यसमार्फत झण्डै चालिस लाख रुपैयां बढी पैसा संकलन गरेको दावी गरेका छन् ।
पछिल्लो समय प्रसाईं र युवासंघका पूर्व अध्यक्ष महेश बस्नेतसंग व्यक्तिगत स्तरमा हिलो छ्यापाछ्याप शुरु भएपछि महिलाहरुका बारेमा आपत्तिजनक अभिव्यक्ति दिंदै आएका छन् । उनले एक युट्युव अन्तार्वातामा भनेका छन् ‘मेरा बाउले ७ वटी विवाह गरेका थिए । मसंग सम्वन्ध भएको भनेर जति आइमाई आए पनि एक एक वटा घर किनेर राखिदिन्छु । म महेश वस्नेतजस्तो लुकेर जे पनि गर्ने नस्वीकार्ने होइन । म त खुलै भन्छु त्यस्ता काम गरिएको छ । आउ कोही आउन मन भए । ‘
प्रसाईंले नेताहरुका बारेमा त पहिले देखिनै घरबाट थुतेर टुक्रा टुक्रा पारेर काट्नु पर्छ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेकै छन् ।
केही समयदेखि महेश वस्नेतले विवाहइतर अवैध सम्वन्ध राखेको र दुर्गां प्रसाईंले पनि त्यस्तै गरिरहेको भन्ने विषयमा सामाजिक सञ्जालमा आरोप प्रत्यारोप र भिडियोहरु समेत भाइरल छन् ।
उनका यस्ता अभिव्यक्तिको नारीवादी संसघ संस्थाहरुले चर्को आपत्ति प्रकट गरेका छन् । अन्तरपार्टी महिला सञ्जालले संयक्त रुपमा नै विरोध गर्ने तयारी गरेको एक नेतृले बतएकी छन् । आफू ऋणमुक्त हुन राजावादीहरुलाई नै मोहरा बनाउन सफल भएको ठानेका प्रसाइंले उनको कार्यक्रममा मानिसहरु खुलेर उपस्थित हुन नसक्ने भएपछि हतासस भएको बुधबार गरेको पत्रकार सम्मेलनमा देखाएका छन्।
युवा संघलाई तिनकुनेको खुल्ला मैदानमा र दुर्गा प्रसाईं नेतृत्वको समूहलाई बल्खुमा स्थान निर्धारण गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् । ‘विशेष गरी मंसिर ७ गतेलाई र त्यसअघि र पछि गरी यी दुई समूहको गतिविधिबाट समग्र शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै सरक्षाकर्मी पनि तयारी अवस्थामा राखिएको’, उनले बताए । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । त्यस्तै राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्र एक महिनाका लागि निषेधाज्ञा जारी गरिएको छ । तर प्रसाईँ निकटका समुह भने सरकारको निषेधाज्ञा नमान्ने अडानमा छ ।
प्रसाईँ निकट समुहका काठमाडौँ संयोजक लक्ष्मीकान्त पाण्डेले जनताको भीड जता पनि जान सक्ने भन्दै भीडले निषेधित क्षेत्र नचिन्ने चेतावनी दिएका छन् । युवा संघले भने प्रसाईँ समर्थकले काठमाडौँका कुनैपनि स्थानमा कार्यक्रम गर्न नदिने चेतावनी दिएका छन् । प्रसाईँलाई देशद्रोहीको संज्ञा दिँदै युवा संघका नेताहरुले उनका कुनैपनि कार्यक्रम काठमाडौँमा गर्न नदिने चुनौतीसहितका अभिव्यक्ति दिइरहेका छन् ।
युवा सङ्घलाई एमाले नेता महेश बस्नेतले एक भिडियोमा प्रसाईँको कार्यक्रम बिथोल्न समेत निर्देशन दिएका छन् । प्रसाईँ समुह पनि आफूहरुको आन्दोलनमा कसैले अवरोध गरे त्यसको सामना गर्न तयारीसहित मैदानमा उत्रिने दाबी गर्छन् । प्रसाईँका समर्थक लक्ष्मीकान्त पाण्डेले यदि कसैले आफुहरुको अभियानमा अवरोध गर्न आए त्यसको प्रतिवाद गर्न तयारी अवस्थाका साथ जनता आउने दावी गरे । उनले भने, ‘हामी कसैसँग भिड्न जाँँदैनौँ तर बीचमा कोही आए हाम्रो हातमा पनि दही जमेर बस्दैन, जनता त्यसको प्रतिवादमा उत्रिन्छ’ । पाण्डेका अनुसार अपेक्षा गरिएको भन्दा ठुलो संख्यामा जनताहरु काठमाडौं आउने क्रम बुधबार दिनभर नै जारी रहन्छ । कसैको दबाब, प्रभावमा नभई स्वस्फुर्तरुपमा आन्दोलनमा सहभागी हुन प्रत्येक जिल्ला, गाउँ, टोलटोलबाट नागरिकहरु आइरहेको उनी बताउँछन् । प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा शक्ति प्रदर्शन गर्ने भनिएको छ । जसका लागि अहिले प्रसाईंका समर्थकहरू प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट सयौं संख्यामा काठमाडौँ आइरहेको बताइएको छ ।
प्रसाईंनिकट व्यक्तिहरूले प्रदर्शनमा देशभरीबाट १० देखि १५ लाख व्यक्ति काठमाडौं उत्रिने भनिए पनि विभिन्न जिल्लाका प्रतिनिधिहरुसँग गरिएको कुराकानीअनुसार सो संख्यामा उनका समर्थकहरु नआउने देखिन्छन् । अधिकांश जिल्लाका प्रतिनिधिहरुले आफ्नो जिल्लाबाट काठमाडौँ जानेहरुको यकिन तथ्यांक आफूसँग नभएको बताएका छन् । केही प्रतिनिधिले भने जाने नजानेमै अन्योल रहेको बताएका छन् । प्रसाईँ समुहका सर्लाही जिल्ला प्रतिनिधि पछिल्लो समयमा आएर आफ्नै खर्चमा काठमाडौँ जान अधिकांश तयार नभएको बताउँछन् । उनले भने, ‘के कति संख्यामा काठमाडौँ जाने यकिन नै छैन, जाने भनिएकाहरु पनि अन्योलमा छन्, भन्न सकिन्न ।’ उता प्रसाईँ निकटका जिल्ला झापा, मोरङ र इलामबाट भने ५० हजार जनाको संख्यामा प्रदर्शनकारीहरु काठमाडौँ आउने अनुमान रहेको झापाका देवी संग्रौलाले बताए ।
प्रसाईँको सचिवालयका अनुसार, देशका विभिन्न भागबाट प्रदर्शनकारी ल्याउन बस, गाडी, जिप, भ्यान तयारी अवस्थामा राखिएको छ। अभियानमा जोडिन खोज्नेलाई सम्पर्क नम्बर उपलब्ध गराइएको छ।
प्रसाईँको नम्बरमा फोन गर्ने जोकोहीलाई ठाउँ हेरी सम्पर्क व्यक्तिको नम्बर उपलब्ध गराउने गरिएको छ। सामाजिक सञ्जाललाई व्यापक प्रयोग गरिएको छ। प्रचार प्रसारको मुख्य माध्यम नै मेसेन्जर, भाइभर, ह्वाट्सएप लगायतलाई सक्रिय पारिएको छ।
स्वतन्त्र आन्दोलन भएकोले धेरैतिरबाट स्वतःस्फूर्त सहभागी हुने सूचना पाइरहेको कार्कीले दाबी गरे।
‘२०६२ मंसिर ७ गते नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गरिएको दिन भएकोले यो दिन विशेष अर्थपूर्ण छ,’ कार्कीले थपे, ‘नागरिकका छटपटी र उकुसमुकुस अन्त्य गर्न यो निर्णायक धक्का हुन्छ।’
उनले प्रदर्शन एकै दिनमा नरोकिने दाबी पनि गरे। व्यवस्था नै उल्टाउने अभियानको उद्देश्य रहेको उनको भनाइ छ।
लाखौँ संख्यामा उर्लिने भनिएको जनसागर केही हजारमा भने आउने आँकलन गर्न सकिने जानकारहरु बताउँछन् । प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डा छ । राजतन्त्रको पुनः स्थापनाका विषयमा बेलाबेला बोली फेर्दै आएका उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता, नेताका परिवार र केही ठूला व्यापारिक घरानाविरुद्ध विवादित बयानहरू दिँदै आएका छन् ।
भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै ती व्यापारिक घराना र नेता रहेको प्रसाईंले दाबी गर्दै आएका छन् । मंसिर ७ गतेको प्रदर्शनका लागि प्रसाईंको सचिवालयद्वारा जारी प्रचार सामग्रीहरूमा ‘गणतन्त्रको विकल्प सहितको भुइमान्छे, सर्वहारा वर्ग तथा नेपाली नागरिकको मुक्तिको लागि अन्तिम लडाई’ भनिएको छ । ती सामग्रीहरूमा ‘अब यो देशको राजा, प्रधानमन्त्री र मन्त्री को बन्छन् भनेर थाहा नभएको’ भन्दै १६ जना तस्कर मारवाडीहरू, १० जना लुटेरा व्यापारीहरू र ३० जना भ्रष्ट नेताहरू कि त भाग्छन्, कि त सकिन्छन, कि त जेल जान्छन्’ भनेर प्रचार गरिएको छ । प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्म सापेक्षमुलुक, सङ्घीयताको विकल्पहरू समेटिएका छन् ।
विवादित पृष्ठभूमिका प्रसाईं विगतमा नेकपा माओवादी केन्द्रमा रहँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि नेकपा एमालेमा रहँदा एमाले अध्यक्ष केपी ओलीसँग निकट थिए । पछिल्लो समय दुबै पार्टी र नेतासँग असन्तुष्ट हुँदै प्रसाईं सडकमा आएका हुन् । उनले विभिन्न बैङ्कबाट ५सय करोड भन्दा बढी ऋण लिएका छन् । बैंकहरुले बताए अनुसार प्रसाइईंले ऋणको गत साउनदेखि किस्ता र व्याज तिर्न छाडेका छन् ।
तीन वर्षअघि नेकपा एमालेमा प्रवेश गरेका प्रसाईँ अहिले एमाले र ओलीको कटु आलोचक बनेका छन् । बैंक, लघुवित्त र सहकारीलाई कालोमोसो दल्ने अभियान चलाएका उनलाई गत असोज २२ गते एमाले निकट राष्ट्रिय युवासंघले कालोमोसो दलेको थियो । युवासंघका कार्यकर्ताले कालोमासो दलेपछि उनी थप आक्रमक बन्दै आएका छन् । त्यसको प्रतिक्रियास्वरूप झापामा आयोजित युवा संघको कार्यक्रममा प्रसाईँ पक्षधरले गाडी तोडफोड समेत गरेका थिए । हिजो सहोदर नातीकै सम्बन्धमा रहेका प्रसाईँले अहिले ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको आरोप लगाउँदै आएका छन् । उनको सो अभिव्यक्तिपछि एमाले पंक्ति क्रद्ध देखिएको छ । देशको राजनीति यतिबेला यस्तै अराजनीतिक कुराहबाट तरंगित छ । प्रसाईँ – ओली र युवा संघको लागि नै टाउको दुखाइको कारण नै बन्न थालेका छन् । संगठन सुदृढीकरण अभियान अन्तर्गतका सडक कार्यक्रमबाहेक प्रसाईँले आन्दोलन सार्वजनिक गरेपछि युवा संघले पनि कार्यक्रम गर्ने घोषणा गरेको थियो । ७ गतेको द्धीपक्षीय आन्दोलनलाई भने सरकारले गम्भीर रुपमा लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्