ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको भूमि कब्जाका लागि २४ सै घण्टा लडाइँमै सहभागी हुनुपर्छ– रुसी सेना


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   ९ : ३९   बजे

काठमाडौं, मंसिर २७ ।  रुसको सैन्य जीवन राम्रै चलिरहेको थियो। युक्रेनले प्रहार गर्ने बमबारीले सैन्य यात्राका झण्डै एक महिना बिथोलिएनन्। युक्रेनको भूभाग कब्जा गर्न युक्रेनी सेनालाई दबाएर रुसको ‘किल्ला’ कायम गर्ने अनवरत युद्ध यात्रामा थिए दाङ तुलसीपुरका रामचन्द्र खड्का।

रुसी सेना बनेर युक्रेनलाई हराउने मिसन सहित युद्ध संग्राममा होमिएका रामचन्द्र गत कात्तिक १३ गते युक्रेनी सेनासँग आमनेसामने बने। दुई पक्षको युद्धमा चलेको बमबारीका क्रममा तीनवटा छर्राले रामचन्द्रलाई ताके। एउटा कम्मरमा, एउटा खुट्टामा अनि अर्को छर्राले तिघ्रा छेडे।

युक्रेनी सेनालाई भगाउन युक्रेनको बाग्मुथ भन्ने स्थानमा घुसेका रामचन्द्र त्यस भन्दा अगाडी बढ्न सकेनन्। धन्न १ घाइते अवस्थामै त्यहाँबाट उम्किन पाए। अहिले रुसको राजधानी मस्कोको सरकारी अस्पतालमा घाइते अवस्थामा थलिएका छन् रामचन्द्र।

‘म अहिले मस्कोको अस्पतालमा उपचाररत छु, मेरो स्वास्थ्य सुधार भइरहेको छ,’ उनले ह्वाट्सएप मार्फत भएको कुराकानीका क्रममा भने ‘अस्पतालले राम्रो स्वास्थ्य सेवा प्रदान गरिरहेको छ, यहाँ मेरो उपचारमा कुनै समस्या छैन।’

गत कात्तिक १३ गते युक्रेनको बाग्मुथ भन्ने भूभागमा प्रवेश गरेको थियो रामचन्द्र सहितको रुसी सेना समूह। उनका अनुसार केही नेपाली सहित अन्य राष्ट्रबाट भर्ना भएका सेनाहरु सँगसँगै युक्रेनको भूभाग कब्जा गर्ने मिसनमा थिए उनीहरू।

‘नेपालीहरु अगाडी र रुसका सेनाहरु पछाडि रहेर लडाइँमा भिड्छन् भन्ने हल्ला नेपालमा चलेको रैछ, तर त्यस्तो हैन,’ उनले भने ‘सबै देशका नागरिकहरु सामूहिक सेनाको टोली बनाएर सँगसँगै वारमा निस्कनु पर्छ, नेपालीलाई मात्रै अगाडी लगाउँछ भन्ने कुरा सत्य हैन।’

उनले त्यहाँ रुसी सरकारले नेपाली सेनालाई कुनै नराम्रो व्यवहार नगरेको समेत बताए। ‘राम्रोसँग लड्नु सुरक्षित भएर घर फर्कनु पर्छ भनेर हामीहरुलाई सम्झाउँछन्,’ रामचन्द्रले भने ‘यहाँ हामी नेपालीहरुलाई कुनै नराम्रो व्यवहार गरिएको छैन।’

उनका अनुसार त्यहाँ २४ सै घण्टा युद्धमै खटिनु पर्छ। रुसले युक्रेनको भूभाग कब्जा गर्ने गरि बनाएको युद्ध नीति अनुरूप सेनामा भर्ती भएका सबै नेपालीहरु युक्रेनको भूमि कब्जाका लागि २४ सै घण्टा लडाइँमै सहभागी हुनुपर्छ।

‘नेपालको जस्तो युद्ध रोकिने, कुनै कुनै बेला मात्रै हुने भन्ने हैन, यहाँ २४ सै घण्टा लडाइँमै सहभागी हुनुपर्छ,’ रामचन्द्र भन्छन् ‘युक्रेनी सेनालाई भगाएर युक्रेनको भूभाग कब्जा गर्नलाई लड्ने हो, यसर्थ लडाई रोकिने भन्ने कुरै हुँदैन।’

रुसको सीमा क्षेत्र देखि झण्डै डेढ किलोमिटर दुरीमा रहेको युक्रेनको बाग्मुथ कब्जा गर्न युक्रेनी भूभागमा घुसेरका रामचन्द्र सहित तीन नेपाली थिए। एक जना सुर्खेत, र एक जना पोखराका नेपाली थिए। युक्रेनी सेनाले त्यो बेला गरेको आक्रमणमा परि ८ रुसी सेना घाइते भएका थिए।

यी मध्य रामचन्द्र, पोखरा र सुर्खेतका दुई नेपाली पनि घाइते भएका थिए। ‘म , सुर्खेतको भाइ र पोखराका भाइ घाइते भयौँ,’ रामचन्द्रले भने ‘हामी टोटल ८ जना रुसी सेना घाइते भयौँ।’

उनका अनुसार युक्रेनी सेना र रुसी सेना बिच लगातार युद्ध भइरहेको हुन्छ। टाढा देखिका बम प्रहार देखि कहिले युक्रेनी सेनासँग आमनेसामने भएर भिड्नु पर्छ।

‘म घाइते हुँदा युक्रेनी सेनाहरुले नजिकैबाट बम हानेका थिए, त्यही बमको छर्रा लागेर म घाइते भएँ’ उनले भने ‘टाढा टाढा बाट पनि सेनालाई ताकेर प्रहार भइरहेका हुन्छन्।’

बमको छर्रा लागेका रामचन्दै रणभूमिमै थलिए। मध्यरातमा उनलाई युक्रेनको भूभागबाट रुसको क्षेत्रमा पुर्‍याइयो। त्यहाँ उनको प्राथमिक उपचार भयो।

‘घाइते भएपछि मलाई युक्रेनको त्यो भूमिबाट रुसको सुरक्षित क्षेत्रमा पुर्‍याइयो,’रामचन्द्र भन्छन् ‘त्यहाँ मेरो शरीरमा रहेका छर्रा निकालियो।’

अर्को दिन बिहान उनलाई हेलिकोप्टर मार्फत राजधानी मस्को स्थित अस्पतालमा उपचारका लागि ल्याइएको थियो।

‘हेलिकोप्टर पनि सीमा क्षेत्रमा जान साथ युक्रेनी सेनाले बम हानेर खसाली हाल्छन्,’ उनले भने ‘सीमा क्षेत्र देखि धेरै टाढा सुरक्षित स्थानमा हेलिकोप्टर आयो, मलाई त्यहाँ सम्म गाडीमा हालेर लगियो, अनि हेलिकोप्टर बाट म अस्पताल सम्म आई पुगेँ।’

रामचन्द्र सँगै काभ्रेपलान्चोक एक घाइते नेपालीको उपचार अहिले सँगै भइरहेको छ। काभ्रेपलान्चोकका ती युवकको पेटमा गोली लागेको छ।

‘काभ्रेका भाइ हुनुहुन्छ, उहाँको पेटमा गोली लागेको छ, उहाँको मेरो छेवैको बेडमा राखेर उपचार भइरहेको छ,’ रामचन्द्रले भने ‘उहाँ फरक स्थानको भिडन्तमा पर्नु भएको रहेछ, धेरै नेपालीहरु अहिले घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेको भन्ने सुनिएको छ।’

उनका अनुसार रुसी सेनामा भर्ना भएका नेपालीहरुको संख्या त्यहाँ थुप्रै छ। चार सय भन्दा बढी नेपालीहरु रुसी सेनामा भर्ना भएको हुन सक्ने आङ्कलन उनले गरे।‘

चार पाँच सय जति नेपालीहरु रुसी सेनामा भर्ना भएका छन्,’ रामचन्द्रले भने ‘कुनै कता कुनै कताको सीमा क्षेत्रबाट लडिरहेका छन्।’ सीमा क्षेत्रबाट युक्रेनको भूभाग ताक्ने नेपालीहरु युद्ध लड्दै अगाडी बढ्नु पर्ने उनले बताए। यस क्रममा कतै युक्रेनी सेनाहरुले बस्नका लागि प्रयोग गरेका भवनहरु बसोबासका लागि प्रयोग गर्नु पर्छ भने कतै आफै सेल्टर तथा बंकर बनाएर लुकेर बस्नु पर्ने रामचन्द्रले बताए।

‘कतै युक्रेनी सेना भागेर छोडेका भवनहरुमा बस्नु पर्छ, कतै आफै सेल्टर तथा बंकर बनाएर बस्नु पर्छ,’ रामचन्द्रले भने ‘आफू सुरक्षित भएर युक्रेनी सेनासँग वार गर्नुपर्छ।’

उनका अनुसार तालिम सक्काएर युद्धमा खटिँदा मोबाइल प्रयोग गर्न मिल्दैन। युक्रेनीहरुले फोन नेटवर्क ट्र्याप गरेर आक्रमण गर्ने खतरा रहने भएकाले मोबाइल प्रयोगमा प्रतिबन्ध हुन्छ। फलतः धेरै नेपालीहरु सम्पर्क भन्दा बाहिर हुने गरेको उनले बताए।

‘युद्धमा जाँदा फोन प्रयोग गरेपछि युक्रेनीहरुले फोन ट्र्याप गरेर आक्रमण गर्ने धेरै खतरा हुन्छ,’ उनले भने ‘यसर्थ सबै स्थानमा फोन लगेर युद्धमा जान मिल्दैन।’

डेढ महिना देखि मस्कोको अस्पतालमा उपचाररत रामचन्द्रको उपचार कहिले सम्म हुन्छ भन्ने यकिन छैन। फलतः अहिले नेपाल फर्कने बारे केही सोचेका छैनन् उनले।

‘अहिले उपचार भइरहेको छ, पूर्ण रुपमा निको नभए घर फर्कने कुरा भएन,’ उनले भने ‘पहिला उपचार गरौँ, अनि घर आउने बारे सोच्नु पर्ला।’

रुसी सेना बन्न घरबाट हिँडेका रामचन्द्र भदौ २९ गते रुस पुगेका थिए। भारतको दिल्ली हुँदै रुस पुगेका रामचन्द्र असोज १० मा रुसी सेनामा भर्ना भएका थिए।

त्यसको एक महिना सम्म उनले सैन्य तालिम लिएका थिए। ‘असोज १० गते रुस सेनामा भर्ना भएको थिएँ, एक महिना तालिम लिएँ,’उनले भने ‘अनि रेड जोन ९युद्ध क्षेत्र० मा खटिएको थिएँ।’

पूर्व माओवादी सेनामा रहेर काम गरेका रामचन्द्र घरको आर्थिक कमजोर आर्थिक अवस्था सुधार्न भन्दै रुसी सेना बन्ने निर्णयमा पुगेका थिए।

‘घरको आर्थिक अवस्था सुधार गर्नुपर्ने भयो, छोराछोरीको पढाई लेखाई सोच्नु पर्‍यो,’ उनले भने ‘नेपालमा बसेर कमाई नहुने भएपछि रुसको सेना बन्न भनेर हिँडे।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group