काठमाडौ १० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । २० औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।
उनले भने, ‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहको साझा देश हो । विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक सांस्कृति नै नेपालीको पहिचान र गौरव हो । यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो । नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधि हाम्रा अमूल्य निधि हुन् । यसै कुरालाई मनन गरी नेपाल सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध छ ।’प्रधानमन्त्री प्रचण्डले ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।







प्रतिक्रिया दिनुहोस्