काठमाडौं, २४ फागुन । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधवार बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच वटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार वटा र नेकपा एकीकृत समाजवादीले दुई वटा मन्त्रालय पाएका छन् । योसँगै २० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले हिजै शपथ लिएका थिए, आज १६ जना थपिएका हुन् ।
नेकपा एमालेबाट रघुवीर महासेठ– उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, राजेन्द्रकुमार राई– खानेपानीमन्त्री, पदम गिरी– कानुन न्याय तथा संसदीय मामिलामन्त्री, बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारीमन्त्री, भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती– रक्षामन्त्री र ज्वालाकुमारी साह– कृषिमन्त्री बनेका छन् । पदम गिरी र बलराम अधिकारीबाहेकका मन्त्री गएको वर्षको पुसमा पनि सरकारमा सहभागी थिए । नेकपा एमालेले गृह वा अर्थ मन्त्रालय मागेको थियो । गृह वा अर्थ मन्त्रालय पाएको भए एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारको नेतृत्व दिने बताएको थियो । तर रोजेको मन्त्रालय नपाएपछि रघुवीर महासेठलाई सरकारमा एमालेको नेतृत्व गर्ने अवसर मिलेको हो ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ– उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन– अर्थमन्त्री, शक्तिबहादुर बस्नेत– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा– सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । नारायणकाजी श्रेष्ठ गृहबाट परराष्ट्र पुग्नुभएको हो भने शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा यथावत् रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने– उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ– युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डीपी)– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी( सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा( सहरी विकासमन्त्री बनेका छन् । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरूको नाम दिइसकेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा नजाने घोषणा गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति कांग्रेससँग सहकार्य तोड्दै नयाँ गठबन्धन बनाएका हुन ।







प्रतिक्रिया दिनुहोस्