काठमाडौं २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रिने पार्टीहरूको अधिवेशन र महाधिवेशनबाटै मतभेद सुरु हुने टिप्पणी गरेका छन्।
शुक्रबार पोखरामा आयोजित कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक सुर र लयमा अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।
‘बिग्रिने पार्टीहरूको लक्षण के हुन्छरु अधिवेशन, महाधिवेशनबाट फाटो, विमति, मतभेद सुरु हुन्छ,’ ओलीले भने, ‘सप्रिने पार्टीको अधिवेशनबाट एकतावद्ध प्रयास हुन्छ। मिल्ने प्रयास हुन्छ। सिंगै पार्टी समस्या समाधानतर्फ लाग्छ।’
उनले एमालेलाई कमजोर पार्ने गरी अघिल्लो वर्ष प्रयास भए पनि त्यो सफल नभएको बताए।
‘एक लय, एक ताल, एक सुरमा अगाडि बढ्नुस्,’ ओलीले भने, ‘अधिवेशनबाट समस्या सुरु होइन, अन्त्य गर्ने हो। नेकपा एमाले त्यही पार्टी हो।’
प्रतिक्रिया दिनुहोस्