काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारीस गरेको नामलाई राष्ट्रपति विधादेवी भण्डारीले नियुक्ति दिएपछि विपक्षी दल कांग्रेस सरकारसंग रुष्ट देखिएको छ । उसले शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारीस नमानेर नयाँ सिफारीसअनुसार नियुक्ति गरेकामा पत्रकार सम्मेलन गरेर राष्ट्रपछि भण्डारीको कदमप्रति आपत्ति जनाएको छ ।
यसै पक्तिमा निवर्तमान प्रधानमन्त्री देउवाकी पत्नी तथा कांग्र्रेस नेतृ आरजु देउवा समेत सामेल भएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा नँया अनुमोदनले संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति सक्रिय हुने खतरा बढेको आशय पोष्ट गरेकी छन्।
उनले फेसबुकमा लेखकी छिन्–
‘नेपालको संविधान अनुसार ‘आलङ्कारिक’ रहनुपर्ने महामहिम राष्ट्रपतिज्यूबाटै संविधानको घोर उलङ्घन भएको छ। शेरबहादुर देउवा सरकारको पालामा गरिएको राष्ट्रिय सभाका ३ जना सदस्यहरूको नियुक्ति सिफारिसलाई राष्ट्रपतिज्यूले पर्याप्त समय हुँदा हुँदै पनि अनुमोदन नगरी त्यसपछि गठन भएको सरकारले गरेको नितान्त फरक व्यक्तिहरुको सिफारिस चाहिं तुरुन्तै अनुमोदन गर्नुले गरिमामय संविधानको उलङ्घन भएको हो। यस्तो कदमले राष्ट्रपति जस्तो मुलुककै अभिभावकको रुपमा तटस्थ रहनुपर्ने पदलाई विवादित र राजनीतिकरण मात्रै गरेको छैन, आगामी दिनहरुमा राष्ट्रपति थप ‘सक्रिय’ हुने खतरा बढाएको छ, जस प्रति गम्भीर खेद प्रकट गर्दछु।’
प्रतिक्रिया दिनुहोस्