काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले ६ मन्त्रालय पाउने भएको छ ।
पार्टी एकता र सरकारको भागबण्डालाई प्याकेजमै सहमति गरेका वाम गठबन्धनले करिब १५ वटा मन्त्रालय समावेश गर्दै सरकार चलाउने तयारी गरेका छन् ।
एमाले स्रोतका अनुसार माओवादीलाई गृहसहित ६ मन्त्रालय दिने तयारी बुझिएको छ । माओवादीले गृहसहित भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका केही ठूला मन्त्रालयमा दाबी गरेपनि केहीवेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको छ।
मन्त्रालय भागबण्डाको विषयमा प्रमुख दुई नेताले आन्तरिक छलफल गरे पनि अन्तिम निर्णय हुन बाँकी छ। वाम गठबन्धनले मधेसकेन्द्रित दललाई समेत सरकारमा ल्याउनेगरी छलफल थालेका थिए। तर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म नयाँ सरकारमा जान नसकिने बताएपछि तत्काल मधेसकेन्द्रित दल सरकारमा आउने सम्भावना कम रहेको छ। बुधबार बेलुकीसम्मनै सबै मन्त्रीको टुङ्गो लगाएर सपथ गराउने गरी तयारी भइरहेको छ बालुवाटार स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्