काठमाडौं २३ बैशाख । जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गर्नुभएको छ। नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आइपुग्नुभएका उहाँ अपराह्न वसन्तपुरमा पुग्नुभएको हो।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आउनुभएको हो। जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ।
प्रतिक्रिया दिनुहोस्