तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग भेट गर्दै अमेरिकाले इरानप्रतिको आफ्नो नीति र व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्।
सोमबार साँझ भएको भेटमा राष्ट्रपति पेजेस्कियानले दबाब र धम्कीका कारण सम्झौता कार्यान्वयन थप जटिल बन्ने बताएका हुन्। इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार उनले अमेरिकाले कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डमा आधारित प्रतिबद्धता पालना गर्नुपर्ने बताए।
पेजेस्कियानले पाकिस्तानको मध्यस्थताप्रति धन्यवाद दिँदै निरन्तर सहयोगले इरान–अमेरिका इस्लामाबाद सम्झौताको उद्देश्य पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उक्त सम्झौता गत जुनमा पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको थियो।
मुनिरको तेहरान भ्रमण
पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिर सोमबारदेखि इरान भ्रमणमा छन्। भ्रमणका क्रममा उनले इरानका उच्च अधिकारीसँग भेटवार्ता गरिरहेका छन्।
मुनिरले सोमबार इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
भेटमा इरानी पक्षले अमेरिकालाई भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको बताइएको छ। पाकिस्तानले इरान र अमेरिकाबीचको विवाद समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका बेला मुनिरको तेहरान भ्रमण भएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्