काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले आफ्ना दुई छोरामध्ये एकलाई निशाना बनाएर हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन्।
सोमबार सरकार समर्थित ‘च्यानल १४’ लाई दिएको अन्तर्वार्तामा नेतन्याहूले आगामी निर्वाचनलाई ध्यानमा राख्दै आफ्नो परिवारसहित इजरायलका अन्य राजनीतिक नेताको सुरक्षा व्यवस्थाबारे धारणा राखेका हुन्।
यद्यपि, उनले आफ्ना दुई छोरा याइर र अवनरमध्ये कसलाई निशाना बनाइएको थियो भन्ने खुलाएका छैनन्। हत्या प्रयास कहिले र कसरी भएको थियो भन्ने विवरणसमेत उनले सार्वजनिक गरेनन्।
नेतन्याहूले आफू र आफ्नो परिवारलाई दिइएको सुरक्षा कुनै विलासिता नभएको दाबी गरेका छन्। इजरायलमा नेतन्याहू परिवार र राजनीतिक नेताको सुरक्षा व्यवस्थालाई लिएर लामो समयदेखि बहस हुँदै आएको छ।
यसैबीच, इजरायली आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ले नेतन्याहूकी पत्नी सारा तथा दुवै छोराको सुरक्षा बढाउने निर्णयलाई स्वीकृति दिएको छ। आगामी निर्वाचनमा नेतन्याहू पराजित भए पनि उनीहरूले सुरक्षा सुविधा पाउने बताइएको छ।
अवनर इजरायलमै बस्दै आएका छन् भने याइर पछिल्ला केही वर्षदेखि अमेरिकाको मियामीमा बस्दै आएका छन्।
केही महिनाअघि नै सुरक्षा जानकारी
एक रिपोर्टअनुसार नेतन्याहू परिवारलाई लक्षित हत्या षड्यन्त्रबारे इजरायली सुरक्षा अधिकारीलाई केही महिनाअघि नै जानकारी भएको थियो। तर, सैन्य सेन्सरका कारण त्यससम्बन्धी विवरण सार्वजनिक गर्न रोक लगाइएको बताइएको छ।
इजरायलमा प्रधानमन्त्री तथा उनको परिवारलाई राज्यका तर्फबाट सुरक्षा प्रदान गर्ने व्यवस्था छ। तर, नेतन्याहूकी पत्नी र दुवै वयस्क छोरालाई लामो समयसम्म उच्चस्तरीय सुरक्षा दिने निर्णयपछि यसको औचित्यलाई लिएर विवाद बढेको छ।
जुलाई २०२६ मा एक मन्त्रीस्तरीय समितिले नेतन्याहू र उनकी पत्नी सारालाई आजीवन तथा दुवै छोरालाई कम्तीमा पाँच वर्षसम्म सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो।
सुरक्षा खर्चमा पनि आलोचना
अमेरिकाको मियामीमा बस्दै आएका याइरको निजी भ्रमण तथा बिदाका क्रममा हुने सुरक्षा खर्च इजरायली करदातामाथि परेको भन्दै आलोचना हुँदै आएको छ।
सन् २०१८ देखि २०२३ सम्म सारा, याइर र अवनरको सुरक्षामा करिब ३ करोड २० लाख रुपैयाँ बराबर खर्च भएको विवरण सार्वजनिक भएको छ। नेतन्याहू परिवारको सुरक्षा खर्चलाई लिएर आलोचना बढिरहेका बेला शिन बेटले सुरक्षा बढाउने निर्णय गरेको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्