काठमाडौँ, १३ फागुन। थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको थारु नेताहरुको भनाइ थियो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती चौधरीले सरकारमा थारु समुदायलाई समानुपातिक सहभागिता गर्नुपर्नेमा जोड दिँदै थारुले सम्मानजनक मन्त्रिपरिषद्मा स्थान पाउनुपर्ने बताउनुभयो ।
थारु संघर्ष समितिका अगुवा एव अभियन्ता डा सुरेन्द्रकुमार चौधरीले नेपालको ७० वर्ष लामो राजनीतिक इतिहासमा थारुले बलिदान गरेको स्मरण गर्दै राज्यले उनीहरुमाथि विभेद गर्न नहुने बताउनुभयो ।
थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सचिव तुलसी थारुले देशमा राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका थारु समुदायले देश विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्