काठमाडौं २४ साउन । रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तु पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले कतार एयरलाइन्समार्फत दोहा हुँदै नेपाल पठाइएको अस्तु बिहीबार परिवारजनले बुझेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल, महोत्तरीका अनितकुमार शाह र स्याङ्जाका गणेश श्रेष्ठको अस्तु नेपाल आइपुगेको हो ।
गत कात्तिक १८ मा मारिएका २६ वर्षीय देवनको पाँच महिनापछि परिवारको सहमतिमा मस्कोस्थित बालाशिखामा अन्त्येष्टि गरिएको थियो । उनको परिवारसँग अन्तिम पटक कात्तिक १७ मा सम्पर्क भएको थियो ।
स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको निधनको खबर परिवारले पुसको दोस्रो साता मात्रै पाएका थिए । समयमै शव नआउने भएपछि परिवारले त्यतिबेलै कुशको प्रतिमा बनाएर दाहसंस्कार गरेका थिए । १८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका उनले साढे दुई वर्षमै राजीनामा दिए ।
त्यतिबेला ओमन र दक्षिण अफ्रिका जाने प्रयासमा रहेका उनी कात्तिक ३ मा रुस पुगेका थिए । मंसिर १८ ९डिसेम्बर ४० मा फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले ‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै’ लेखेका थिए । मंसिर १९ पछि उनी परिवारको सम्पर्कमा थिएनन् । परराष्ट्र मन्त्रालयले गत मंसिर १८ मा स्याङ्जाका प्रीतम कार्कीको रुस–युक्रेन युद्धमा मारिएको पुष्टि गरेको थियो ।
रुसले डीएनए परीक्षणका लागि १५ जना परिवारको नमुना मागेको थियो । कन्सुलर विभागले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।
नेपाल सरकारले लगातार प्रयास गरिरहे पनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्यांक रुसी सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको छैन ।
रुस–युक्रेन युद्धमा भइरहेका घटनाका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयले जेठ ११ मा युरोप–अमेरिका महाशाखा प्रमुख गणेश ढकालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।
गैरआवासीय नेपाली संघ, रुसका अनुसार रुस–युक्रेन युद्धमा मारिएकाको शव रोस्तोभ सहरमा संकलन भइरहेको छ । ‘त्यहाँ ल्याएपछि पहिचान गर्न डीएनए परीक्षण हुन्छ,’ एनआरएन रुसका अध्यक्ष केश तिमल्सिनाले भने ।
प्रतिक्रिया दिनुहोस्