काठमाडौं, १८ फागुन । सन्दिप लामिछाने आफ्नो शानदार क्रिकेट करिअर जारी राख्दै आईपीएलपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
१७ वर्षीय किशोर लेग स्पिनरलाई यसअघि इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो । बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो ।
दुई साताअघि नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज हुनु र आईपीएलमा छनोट हुनु सन्दिपका लागि सीपीएल अनुबन्धको मुख्य आधार बन्यो ।
सीपीएलमा सन्दिपले वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलसँग ड्रेसिङ रुम शेयर गर्नेछन् । गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्समा छन् ।
क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने सीपीएलमा ६ फ्रेन्चाइजी टोली छन् । प्रतियोगिताको यो छैटौं संस्करण हो । अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा प्रतियोगिता आयोजना हुनेछ ।
सीपीएलको अक्सन भइरहँदा सन्दिप भने नेपाली राष्ट्रिय टोलीसँगै जिम्बाबेमा छन् ।
प्रतिक्रिया दिनुहोस्