सिन्धुली, १८ फागुन । तिनपाटन गाउँपालिका वडा नं. ३ निवासी छेउकुमारी तामाङको आगलागीबाट सबै नष्ट भयो । गत माघ १ गते भएको आगलागीपछि स्थानीय जनप्रतिनिधिले सहयोग जटाउने प्रया पनि गरे तर सम्भव भएन ।
जनप्रतिनिधिहरुको प्रयास सम्भव नभएपछि सिन्धुली पुनर्निर्माण पुनःस्थापन अभियानलाई सहयोगको लागि अनुरोध भयो । त्यसपछि अभियानले सहयोग गर्ने योजना बनायो । ‘अनुरोध आयो, सिन्धुली पुनर्निर्माण पुनःस्थापन अभियान एक नागरिक अभियान हो र कहिलेकाहिँ हामीलाई श्रोत जुटाउन गाह्रो पर्छ’ अभियानका संयोजक उज्वलविक्रम थापाले भन्नुभयो– यो आगलागी पीडितलाई राहत जुटाउन हामी लाग्यौं । हाम्रो अभियानको सबैभन्दा ठूलो उदेश्य सोच परिवर्तन हो । अरुको मुख नताकेर सिन्धुलीका दिनदुखीलाई हामी सबैले हातेमालो गरेर सहयोग गर्नु पर्छ भन्ने हाम्रो सोच हो ।
कहिलेकाहिँको संयोग फरक हुन्छ । सहयोगीको खोजीमै रहेको अभियानका लागि एउटा नवविवाहितले फोन गरेर आफूलाई भनेको स्मरण गर्दै संयोजक थापाले भन्नुभयो– एउटा फोनले यो सोच स्थापित हुन्छ कि भन्ने अनुभूति भयो । नाम सार्वजनिक नगर्ने सर्तमा म यो अग्नी पीडित परिवारलाई सहयोग गर्न चाहन्छु भनेर फोन गर्ने भाइले भने दाइ मैले भर्खरै लाखौं खर्च गरेर विवाह गरेँ । आफ्नो घर बसाउन लाखौं खर्च गर्दा मैले छेउकुमारी तामाङको घर नस्ट भएको सुनेको थिएँ । म आफ्नो शुभ कार्यमा छेउकुमारीको पनि घर बसाउन चाहन्छु ।
नवविवाहित जोडीबाट साढे १२ हजार रुपैयाँ प्राप्त भयो । बाँकी सिन्धुली पुनर्निर्माण पुनःस्थापन अभियानको तर्फबाट गरी २५ थान जस्ता १ थान धुरी छाउने जस्ता १ थान, डसना १ थान, सिरक ढेक्ची ४ थान, गिलास ४ थान, थाल चामल नुन तेल मस्यौरा लगायत राहत सामग्री हस्तान्तरण गरिएको अभियानले जनाएको छ ।
नवविवाहित जोडीको यो सकारात्मक सोँचप्रति अभियान नतमस्तक भएका छन् । छेउकुमारी तामाङ राहत पाएपछि निकै दंग हुनुहुन्छ । केही हदसम्म पनि राहतको महशुस भएको छ ।
प्रतिक्रिया दिनुहोस्