काठमाडौं ३० मंसिर । एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म माओवादीसँग एकतामा जान नहुने धारणा राखेका छन् ।
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि शीर्ष तहमा धेरै पटक छलफल भइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आआफ्नो टिममा छलफल गरी एकता संयोजन समिति बनाउने निधो गरेका थिए ।
महासचिव घनश्याम भुसालले स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख छ ।
‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ । आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।’
भुसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने जनाउँदै एमाले–माओवादी एकताको उदाहरण दिएका छन् । ‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादीका बीचमा भएको एकता, कचिङ्गल र विभाजनले देखाएको छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।’
एमालेबाट विभाजन भएपछि पार्टीमा व्याप्त निराशाका कारण कहिले माओवादी र एमालेसँग नजिक हुन खोज्दा समस्या आएको निष्कर्ष निकालिएको छ ।
प्रतिक्रिया दिनुहोस्