काठमाडौं ४ पुष । प्रतिनिधिसभा अन्तर्गतको महत्त्वपूर्ण समितिका रूपमा मानिँदै आएको सार्वजनिक लेखा समितिको बैठक नबोलाएकोप्रति सांसद अमरेशकुमार सिंहले आपत्ति जनाएका छन् ।
सभापति ऋषिकेश पोखरेलकी पत्नी सहकारी ठगीमा परिरहेसम्म र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकार सफल नभएसम्म लेखा समिति बैठक नबस्ने खतरा रहेको सांसद सिंहको दाबी छ ।
सार्वजनिक लेखा समितिको पछिल्लो बैठक गत भदौ ९ गते बसेको थियो । उक्त बैठकमा समिति सभापति पोखरेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौताका सम्बन्धमा घिसिङलाई कारबाही गर्नकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई लेखिपठाउने निर्णय वाचन गरेका थिए । सभापतिको उक्त निर्णयको विरुद्धमा सत्तारुढ कांग्रेससमेत उभिएपछि निर्णय हुन सकेको थिएन । भदौ ९ यता लेखा समितिको बैठक बोलाइएको छैन ।
यसैबीचमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएको थियो । सभापति पोखरेलको सक्रियतामा खुलेको मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा कोइराला संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्