चितवन । शनिबार राति परेको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब १०ः२५ बजे रूखसहितको पहिरो खसेर नारायणगढ–काठमाडौं सडकखण्ड दुवैतर्फी अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ।
पहिरो ठूलो भएकाले सडक खुलाउन कम्तीमा ६ देखि ७ घण्टा लाग्न सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै नारायणगढबाट काठमाडौं र काठमाडौं हुँदै नारायणगढतर्फ जाने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।
सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहे पनि वर्षा तथा थप पहिरोको जोखिमका कारण काम प्रभावित हुन सक्ने जनाइएको छ।
प्रहरीले सडकको अवस्था सामान्य नहुँदासम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
पृथ्वी राजमार्गमा यसअघि पनि वर्षायाममा पहिरोका कारण पटक–पटक यातायात अवरुद्ध हुँदै आएको छ। सिमलधारा क्षेत्रमा पहिरो खसेपछि काठमाडौं–चितवन आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्