काठमाडौं ५ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात बढ्दै गएको गुनासो गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको साधरण सभामा बोल्दै घिसिङले विद्युत् प्राधिकरण नाफामा जाँदाभन्दा घाटामा जाँदा खुसी हुनेहरूको संख्या बढ्दै गएको टिप्पणी गरेका हुन्।
‘नेपालमा लोडसेडिङ बढ्योभन्दा खुसी हुने, विद्युत् प्राधिकरण नाफामा जाँदा दुस्खी हुने जमात बढेको छ’, घिसिङले भने, ‘नकारात्मकता फैलाउँदा खुसी हुनु राम्रो होइन।’
गत असोजमा आएको बाढीले माथिल्लो तामाकोसीमा क्षति पुर्याएकाले केही समस्या मात्र भएको उनको भनाइ छ।
केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ सुरु हुन सक्ने बताएका थिए।
त्यसलाई कम गर्न भारतबाट साढे ६ सय मेगावट विद्युत् आयात गर्न लागिएको उनले जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस्