काठमाडौं ११ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ र आफ्नो पार्टी माओवादीबीच एकताको बाधकका रुपमा प्रचार गरिए पनि त्यो सत्य नभएको बताएका छन्।
चिनियाँ नेता माओ दिवसमा अवसरमा राजधानीको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा शर्माले भने, ‘पछिल्लो समय हाम्रो सम्बन्धमा थोरै कालो बादल लगाउने कोसिस गरिएको थियो। त्यो सत्य थिएन।’
त्यो सत्य होइन भन्नेमा आफू र विप्लव स्वयं पनि पहिलेदेखि नै प्रष्ट रहे पनि कपिलवस्तु र ललितपुरको हरिसिद्धिमा भएको छलफलबाट भ्रम चिरिएको उनको भनाइ छ।
‘एक महिनाअघि कपिलवस्तुमा उहाँको निवासमा गएको थिएँ, हामीले केही संक्षिप्त कुराकानी गर्यौं,’ शर्माले भने, ‘विप्लव र माओवादीबीच एकताको बाधकका रुपमा चर्चा गरियो। तर, हामीबीचमा हामी कम्युनिष्ट एकतालाई अघि बढाउन चाहान्छौं भन्नेमा हामी कुनै भ्रममा थिएनौं।’
उनले थपे, ‘कपिलवस्तु र हरिसिद्धिमा भएको छलफलबाट हामी थप प्रष्ट भयौं।’ शर्माले कम्युनिष्ट आन्दोलनको तेस्रो पुर्नगठन आवश्यक रहेकोमा समेत जोड दिए।
प्रतिक्रिया दिनुहोस्