काठमाडौं १२ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिए।
उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाईंको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान भइरहेको हो।
लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताए।
सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ।
रास्वपा सभापति लामिछानेसहित १९ जनाविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाइएको छ।
लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
अदालतमा रविले इन्कारी बयान दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्