धनकुटा,२९ फागुन । धनकुटामा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब १० बजेतिर सुनसरीको धरानबाट जेसिबी लोड गरेर धनकुटातर्फ आउँदै गरेको ना ५ ख १९३६ नम्बरको ट्रक कोशी राजमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित घण्टे खोलामा दुर्घटना भएको थियो।
दुर्घटनामा परि सडक विभागका कर्मचारी धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ वस्ने बिर बहादुर राई र रामजित राईको घटनास्थलमै मृत्यु भएको मुलघाट प्रहरी चौकीका इञ्चार्ज राजेश कुमार श्रेष्ठले जानकारी दिए। सडकमा काम गरिरेका उनीहरुको दुर्घटनाग्रस्त ट्रकले ठक्कर दिंदा घटना स्थलमा नै मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परि घाइते हुनेहरुमा ट्रकका चालक रामेछाप मन्थली ७ का दीपकुमार लामा, सहचालक मकवानपुर इन्द्रसरोबर २ का सनम तामाङ, धादिङ गजुरी ६ का रमेश भण्डारी, ललितपुर बागमी ६ का रमेश भण्डारी र मकवानपुर माखु १ का अशोक विष्ट रहेका छन्। घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्