काठमाडौं २५ पुस । सहकारी ठगीको आरोप लागेकी लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा धरौटी बुझाएर रिहा भएकी छिन् ।
बुधवार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
मोरङको धनपालथान ३ मा रहेको उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला हिजो आफैँ जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।
गएको मङ्सिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । यस सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अहिलेसम्म एक जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार छन् ।
प्रतिक्रिया दिनुहोस्