काठमाडौं १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको मौखिक प्रतिवेदन र महामन्त्री डा।धवलशमशेर राणाले पेस गरेको लिखित ‘राजनीतिक विचार’मा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी मौखिक प्रतिवेदन पेस गरेका थिए । मौखिक प्रतिवेदन पेस गर्ने क्रममा लिङ्देनले कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न लागिपरेको आरोप लगाएका छन् भने उनले दुई दलीय व्यवस्था कायम गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसविरुद्ध पार्टी चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।
यस्तै उनले वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्युहमा फस्न सक्ने खतरा रहेको पनि गरेका छन् । यस्तै अध्यक्ष लिङ्देनले आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर संगठन निर्माणलाई आफ्नो प्रतिवेदनमा जोड दिएका छन् ।
राणाले अध्यक्षको कार्यशैलीको आलोचनासहित आन्दोलनमा जोड दिँदै आफ्नो प्रतिवेदन ल्याएका छन् । ६ पृष्ठ लामो उक्त प्रतिवेदनमा उनले एकता महाधिवेशनपश्चात् पार्टीले नयाँ गति लिने, गुणात्मक फड्को मार्ने तथा विधानको पालना भएर पार्टीको आन्तरिक प्रजातन्त्र सुदृढ हुन्छ भन्ने आम अपेक्षा गरिए पनि एकपछि अर्को समस्याहरूले गर्दा पार्टीपंक्तिमा चिन्ताको सञ्चार भएको उल्लेख गरेका छन् ।
शनिबारदेखि केन्द्रीय सदस्यहरूले प्रतिवेदनमा आधारित भएर धारणा राख्ने क्रममा विभिन्न विषय उठाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ती केन्द्रीय सदस्यका अनुसार अध्यक्षको मौखिक प्रतिवेदनमा भन्दा पनि राणाको प्रतिवेदनलाई समर्थन गरेर बोल्ने केन्द्रीय सदस्य धेरै रहेका छन् ।
शनिबार ८० भन्दा बढी सदस्यले बोल्दा कतिपयले धवलको राजनीतिक विचारलाई समर्थन गर्दै आफ्नो धारणा राखेको ती सदस्यको भनाइ छ । ‘धेरै सदस्यले अध्यक्षको लिखित डकुमेन्ट आएन भनेर भन्नुभयो । न संगठनको बारेमा छ न त राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा ठोस विषय नै आयो भन्ने उहाँहरूको धारणा छ’, ती सदस्यको भनाइ छ, ‘आन्दोलनको पनि ठोस खाका अध्यक्षबाट आएन भन्ने धारणा हलमा आएको छ ।’
यस्तै बैठकमा राप्रपाले प्रदेशमा भाग पाएको सभामुखलाई फिर्ता बोलाउनुपर्ने विषय पनि केही सदस्यले उठाएको उनको भनाइ छ । यस्तै पार्टीमा गुटगत राजनीति मौलाएको, अध्यक्षले फरक मतलाई पेल्न खोजेको जस्ता विषय पनि उठेको ती सदस्यको भनाइ छ ।
यस्तै बैठकमा विदेशी पासपोर्ट भएकालाई केन्द्रीय सदस्य बनाउने काम भएको पनि विषय पनि उठेको छ । यो विषय केन्द्रीय सदस्य जनकराज पाठकले सबैभन्दा पहिला उठाएको अर्का एक केन्द्रीय सदस्यले बताए ।
केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठसँग अमेरिकी पासपोर्ट भएपनि पार्टीको विधान र संवैधानिक व्यवस्थालाई खिल्ली उडाउँदै पार्टीले उनलाई जिम्मेवारी दिनु गलत भएको पाठकको भनाइ छ ।
तर बैठकमा धारणा राख्ने केही केन्द्रीय सदस्यहरूले अमेरिकी पासपोर्ट भयको व्यक्तिलाई तत्काल पार्टीबाट निष्कासन गर्न माग गरेका छन् । केन्द्रीय सदस्य धनशुर शाही, जनक पाठक, रन्जन कार्की, प्रविण थोकर, नानीमैया आचार्य, मिना स्वर्णकार, शशी सिलवाल, रामराज कोइराला, निरन्जन थापा, भरत पाठकलगायतले पार्टी अध्यक्षले एकलौटी ढंगले पार्टी चलाउन खोजेको, सामूहिक निर्णयमा नगएको, जथाभाबी विधान विपरीत कार्य गरेको जस्ता आरोप समेत लगाएका छन् ।
तर संस्थापन पक्षबाट यसरी धनबहादुर बुढा, प्रकाश रिमाल, हिक्मत कार्कीलगायतले भने अध्यक्षलाई बलियो बनाउन पर्ने र धवल शमशेर राणाको प्रतिवेदन खारेज गर्नु पर्ने जस्ता धारणा राखेको नेताहरूको भनाइ छ । यसैबीच राप्रपाको बैठक लम्बिने भएको छ । शनिबार नै सक्ने भनिएको बैठक सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले आइतबार पनि जारी रहने अध्यक्ष लिङ्देनले बैठक हललाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्