काठमाडौं, ६ फागुन । नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर–जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई चन्द्रमामा बनाइएको ‘एथेना’ नामक बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित उक्त परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गर्न लागेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर–जीरएलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।
पृथ्वी र चन्द्रमाको दूरीका कारण अहिले चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आदानप्रदान गर्न झन्डै डेढ मिनेटको समय लाग्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ठहर छ । अहिले उपलब्ध प्रविधिका रेडियो वेभहरूमा समस्या देखिने र बारम्बार सञ्चार विच्छेद हुने गरेकोमा नोकियाको यो प्रविधिले भरपर्दो सेवा दिने दाबी गरिएको छ ।
चन्द्रमामा फोर–जी विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च हुने र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवसहितको सतहमा महत्त्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रबन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्