काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले नेपालको विकास प्रयासमा भारतको सहयोग निरन्तर रहने आश्वासनसमेत दिनुभएको बताइएको छ।
प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवको प्रतिबद्धताप्रति आभार व्यक्त गर्नुभएको थियो।
यसैबीच, प्रधानमन्त्री शाहले आजै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्