स्थिर र अनुभवी नेतृत्वको माग गर्ने युगमा, राष्ट्रपति ट्रम्पले शुक्रबार जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल चाल्र्स क्यू. ब्राउनलाई हटाउने निर्णय — अन्य सैन्य बर्खास्तगी र विवादास्पद मन्त्रिपरिषद् नियुक्तिहरूसँगै — ले एकचोटि फेरि विशेषज्ञताभन्दा वफादारीलाई प्राथमिकता दिने चिन्ताजनक प्राथमिकता देखाएको छ । यो परिवर्तनले नीति र शासनको भविष्यलाई मात्र कमजोर बनाउँदैन; यसले अमेरिकाको लोकतन्त्रलाई लामो समयदेखि सुरक्षित राख्ने संस्थाहरूको आधारलाई अस्थिर बनाउँछ र व्यावसायिकताको सट्टा राजनीति थापर्दछ ।
जनरल ब्राउन, जो आफ्नो रणनीतिक बुद्धिमत्ता, गहिरो अनुभव र स्थिर मार्गदर्शनका लागि प्रशंसित थिए, उनलाई हटाएर कम परीक्षित र प्रष्ट रूपमा बढी आज्ञाकारी व्यक्तिलाई ल्याउनुले तत्काल प्रश्नहरू उठाउँछः के नयाँ जोइन्ट चिफ्स अध्यक्षले ट्रम्पलाई उनले सुन्न नचाहेका इमानदार सल्लाह दिने आँट गर्नेछन् ? राष्ट्रपतिले जोइन्ट चिफ्समाथि कसरी शक्ति प्रयोग गर्न खोज्नेछन्, जो ऐतिहासिक रूपमा विशेषज्ञता र परिपक्व सल्लाहका आवश्यक स्रोत रहेका छन् ? जोइन्ट चिफ्स नेतृत्वमा आएको राजनीतिक परिवर्तनले पूर्वी युरोप, मध्य पूर्वदेखि दक्षिण चीन सागरसम्मका भूराजनीतिक प्राथमिकताहरूबारे जटिल छलफललाई कसरी प्रभावित गर्नेछ ?
शुक्रबार पेन्टागनमा भएको शुद्धीकरण एउटा छुट्टै कदम होइन — यो प्रशासनले राष्ट्रपतिको व्यक्तिगत सञ्जाल वरिपरि आफूलाई पुनर्गठन गर्ने मनसायको संकेत हो। ट्रम्पको मन्त्रिपरिषद्मा को–को रहनेछन् भन्ने अब हामीलाई थाहा भएको कुरालाई विचार गरौं । यी छनोटहरूले खतरनाक प्रवृत्तिलाई पछ्याउँछन् जहाँ योग्यताले वफादारीभन्दा पछाडिको स्थान लिन्छ, र सहमतिको प्रतिध्वनिले प्रमाण–आधारित विशेषज्ञताभन्दा बढी मूल्यवान् हुन्छ ।
रक्षा मन्त्री हेग्सेथको सबैभन्दा उल्लेखनीय योग्यता उनको फक्स न्यूजको राजनीतिक टिप्पणीकारको कार्यकाल थियो, जुन राष्ट्रपतिका लागि रक्षा रणनीतिको जटिल वास्तविकतासँगको कुनै संलग्नताभन्दा बाहिरको कुरा हो भन्ने बारम्बार अगाडि आएको छ। हेग्सेथको पुष्टि सुनुवाइले अत्यधिक मदिरापान र महिलाहरूप्रति उनको व्यवहारबारे गम्भीर चिन्ता उठायो। हालसम्म, उनको नेतृत्वले पेन्टागनलाई राष्ट्रपतिको राजनीतिक खेल पुस्तिकासँग बढी समायोजन गरेको देखाउँछ, न कि वैश्विक सैन्य संलग्नताको गम्भीर गणनासँग । उदाहरणका लागि, युक्रेनबाट पछि हट्ने उनको हालैको टिप्पणीले युरोपका सहयोगीहरूलाई अचम्ममा पारेको छ, र प्रशासनले ती कुराहरूलाई फिर्ता लिन हतार गरेको छ।
त्यसपछि रोबर्ट एफ. केनेडी जुनियरलाई स्वास्थ्य र मानव सेवा विभागको नेतृत्व गर्न छनोट गरिएको छ। केनेडी खोपको मुखर संशयवादी रहेका छन्, जसले सार्वजनिक स्वास्थ्यलाई कमजोर बनाउने गलत जानकारी प्रवद्र्धन गर्छन्। उनको एच.एच.एस.मा नियुक्ति तर्कलाई मात्र चुनौती दिँदैन; यो उनले अहिले नेतृत्व गरेको विभागको आधारभूत सिद्धान्तहरूप्रतिको अपमान हो, जसले पहिले नै फ्लु खोप र अन्य खोपहरूका लागि केही अभियानहरू स्थगित गरिसकेको छ। यस सन्दर्भमा, विज्ञानलाई किनारा लगाइन्छ र सीमान्त सिद्धान्तहरूलाई प्राथमिकता दिइन्छ, जसले राष्ट्रको वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमतालाई जोखिममा पार्छ।
त्यस्तै, तुलसी गबार्डको देशका शीर्ष गुप्तचर अधिकारीको रूपमा नियुक्तिले टड्कारो रुपले रातो झण्डा उठाउँछ। उनको सैन्य पृष्ठभूमि र ट्रम्पका एजेन्डाको समर्थनभन्दा बाहेक, गबार्डसँग राष्ट्रपतिको गुप्तचर ब्रिफिङहरूको निरीक्षण गर्न र गुप्तचर समुदायका विभिन्न शाखाहरूलाई समन्वय गर्न के योग्यताहरू छन् ? उनको विदेश नीति दृष्टिकोण प्रायः स्थापित अमेरिकी दृष्टिकोणहरूसँग बाझिन्छ, र उनले सिरियाका पूर्व तानाशाह बशर अल–असद र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन जस्ता अधिनायकवादी व्यक्तित्वहरूप्रति सहानुभूति देखाएकी छन् र उनीहरूको बचाउ गरेकी छन्।
उनको पुष्टिको विपक्षमा मतदान गर्दै, पूर्व रिपब्लिकन बहुमत नेता सिनेटर मिच मक्कोनेलले भनेका थिए– राष्ट्रिय गुप्तचर निर्देशक “निर्णयमा चिन्ताजनक कमजोरीको इतिहास भएको व्यक्ति“ हुनुहुँदैन। तर मक्कोनेल आफ्नो पार्टीका एकमात्र सिनेटर थिए, जसले उनको विपक्षमा मतदान गरे; उनको प्रभावमा रक्षा नीतिको सुसंगतताबारे गम्भीर प्रश्नहरूलाई बेवास्ता गरेका थिए ।
काश पटेलको एफ.बी.आई. निर्देशकको रूपमा पुष्टि शायद यो वफादारीको–पहिलो रणनीतिको सबैभन्दा चिन्ताजनक उदाहरण हो। पटेलको विगतका महत्वपूर्ण अनुसन्धानहरूलाई कमजोर पार्ने प्रयासहरूले राजनीतिक स्वार्थलाई निष्पक्ष न्यायको कार्यान्वयनभन्दा प्राथमिकता दिएको देखाउँछ, जुन राष्ट्रको शीर्ष कानून प्रवर्तन एजेन्सीबाट अपेक्षित आधारभूत सिद्धान्त हो। उनी प्रायः षड्यन्त्र सिद्धान्तहरू, शत्रु सूचीहरू र तथ्यहरूमाथि आधारहीन प्रतिशोधमा संलग्न भएका छन्।
पटेलको पदले उनलाई स्वतन्त्र, आफ्नो निष्ठामा अडिग र निर्णय लिनमा संयमित हुने कुराको माग गर्छ। सेनाजस्तै, ब्यूरोको मिशनले सार्वजनिक विश्वास कायम राख्न पार्टीगत राजनीतिलाई पार राख्नु पर्छ, र यसको नेताले राष्ट्रिय सुरक्षा कानूनको जटिलताहरू मात्र बुझ्नुपर्दैन तर सत्य र पारदर्शितालाई पनि पालना गर्नुपर्छ। पटेलले आफूसँग यो पदका लागि आवश्यक योग्यता वा स्वभाव छ भन्ने प्रदर्शन गरेका छैनन्।
“पटेलप्रति मेरो आरक्षण उनको आफ्नै पूर्व राजनीतिक गतिविधिहरू र तिनले उनको नेतृत्वलाई कसरी प्रभाव पार्न सक्छन् भन्ने कुराबाट उत्पन्न हुन्छ,“ अलास्काकी रिपब्लिकन सिनेटर लिसा मुर्कोव्स्कीले एक्समा पोस्ट गरेकी छन् । सुश्री मुर्कोव्स्कीले उनको नियुक्तिको विपक्षमा मतदान गरिन्, । उनले भनेकी छन् “एफ.बी.आई.लाई अपराध र भ्रष्टाचार उन्मूलन गर्ने संघीय एजेन्सीको रूपमा विश्वास गर्नुपर्छ, राजनीतिक हिसाबकिताब मिलाउनमा केन्द्रित गर्ने होइन्।“
कांग्रेसले जोइन्ट चिफ्सका अध्यक्षको कार्यकाललाई राष्ट्रपति प्रशासनहरूमा विस्तार गर्न र संस्थागत ज्ञान संरक्षण गर्न जानाजानी स्थापना गरेको थियो। अब, ट्रम्पले रिटायर्ड वायुसेना लेफ्टिनेन्ट जनरल ड्यान केनलाई जोइन्ट चिफ्सको नेतृत्व गर्न छानेका छन्। केन असामान्य छनोट हुन्, केवल रिटायर्ड भएकाले र उनको पद, जो उनका पूर्ववर्तीहरूभन्दा कम छ, तर ट्रम्पले विगतका राजनीतिक भाषणहरूमा उनलाई दिएको समर्थनका कारण पनि हो । “‘म तपाईंलाई माया गर्छु, सर। म तपाईंलाई महान् ठान्छु, सर। म तपाईंका लागि मार्नेछु, सर,’“ ट्रम्पले जनरल केनले उनलाई यसरी भनेको कुरा बताएका छन्।
जनरल ब्राउनलाई बर्खास्त गरिँदा, हेग्सेथले सेनाका जज एड्भोकेट जनरलहरू — वायुसेना, नौसेना र सेनाका शीर्ष वकिलहरू — साथै नौसेनाको नेतृत्व गर्ने पहिलो महिला र वायुसेनाका उपप्रमुखलाई पनि प्रतिस्थापन गरे। जर्जटाउन लका प्राध्यापक र राष्ट्रिय सुरक्षा विशेषज्ञ रोसा ब्रुक्सले एक्समा लेखिन्, “यो तपाईंले कानून तोड्ने योजना बनाउँदा गर्ने कुरा होः तपाईंले आफूलाई ढिलो गर्न सक्ने कुनै पनि वकिललाई हटाउनुहुन्छ।“
यो कदम ट्रम्पले धेरै कार्यकारी विभागहरूमा महानिरीक्षकहरू, सरकारी नैतिकता कार्यालय र विशेष परामर्श कार्यालयका प्रमुखहरू, जसले ह्विसलब्लोअर उजुरीहरूको अनुसन्धान गर्छ, लाई बर्खास्त गरेको जस्तै थियो। आफ्नो पहिलो कार्यकालमा अवरोधहरूबाट सिकेर, राष्ट्रपति आफ्ना योजनाहरूमा आपत्ति जनाउन सक्ने वकिलहरू वा कार्यकारी शाखाका अधिकारीहरूलाई छिटो चुप लगाउन अघि बढिरहेका छन्, जुन प्रायः संवैधानिक कानून र अभ्यासको सीमाभन्दा बाहिर जान्छ।
ट्रम्पसँग आफूलाई घेर्ने सल्लाहकारहरू छनोट गर्ने अधिकार छ। यी प्रत्येक छनोटहरूसँगै, तथापि, राष्ट्रपति वफादारी र आज्ञाकारिताको अपेक्षालाई विशेषज्ञता, योग्यता र उनीहरूले नेतृत्व गर्ने एजेन्सीहरूसँग सम्बन्धित मुद्दाहरूमा स्वस्थ, स्वतन्त्र निर्णयको स्पष्ट रेकर्डभन्दा अगाडि राखिरहेका छन्। अमेरिकी जनतासँग यी एजेन्सीका नेताहरूले राष्ट्रपतिको स्वार्थभन्दा उनीहरूको हितमा काम गरिरहेका छन् भन्ने विश्वास गर्ने कुनै कारण छैन। – परिणामस्वरूप नेतृत्वको एक वर्ग छ जसले ट्रम्पको विश्वदृष्टिकोणलाई प्रतिबिम्बित गर्छ, व्यापक लोकतान्त्रिक हितको हानिको लागि मुखर छ ।
सिनेटले राष्ट्रपतिको तर्फबाट यी सबै मन्त्रिपरिषद् सदस्यहरूको पुष्टि गरेर उनीहरूका कार्यहरूको निरीक्षण गर्ने र उनीहरूमध्ये कसैले प्रभावकारी — र स्पष्ट रूपमा, हालसम्मको ट्र्याक रेकर्डलाई हेर्दा, कानूनी — शासनलाई खतरामा पार्दा हस्तक्षेप गर्ने जिम्मेवारी स्वीकार गरेको छ।
कांग्रेससँग सधैं ट्रम्पका कार्यहरूमा बोल्ने र आपत्ति जनाउने अधिकार छ। हो, धेरै सिनेटरहरूले राष्ट्रपतिको मन्त्रिपरिषद् प्राथमिकताहरूलाई सम्मान दिए र उनको मनोनयनलाई स्वीकृति दिए, केही अवस्थामा धेरै साँघुरो रूपमा। तथापि, धेरैले पहिले नै यी छनोटहरूका परिणामहरूबारे चिन्ता व्यक्त गरिसकेका छन्। दुवै पक्षका सदस्यहरूले ट्रम्पले युक्रेनमा रूसी लाइनको अपमानजनक दोहोर्याइप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरू सम्भवतः तब झन् बढी चिन्तित हुनेछन् जब इलन मस्कका कटौतीहरू उनीहरूका राज्यहरूमा पुग्छन्, जब दादुराको रेकर्ड–तोड्ने प्रकोप हुन्छ, वा जब कमजोर एफ.बी.आई.ले महत्वपूर्ण राष्ट्रिय सुरक्षा चेतावनी छुटाउँछ वा अनुसन्धानमा असफल हुन्छ।
ट्रम्पले वकिलहरूलाई बर्खास्त गर्न सक्छन्, तर उनी निर्वाचित अधिकारीहरूलाई चुप लगाउन सक्दैनन्, र उनीहरूले आफ्नो काम गर्नुपर्छ र आफ्नो आवाज उठाउनुपर्छ।
अमेरिकाका संस्थाहरू विचारहरूको मजबूत आदान–प्रदान र अनुभवको स्थिर हातमा फस्टाउँछन्। देशको लोकतन्त्र संविधानद्वारा स्थापित तीन शाखाहरूको नियन्त्रण र सन्तुलनमा निर्भर छ। कानून निर्माताहरू, सैन्य अधिकारीहरू र संलग्न नागरिकहरूले विशेषज्ञता र विविध दृष्टिकोणलाई प्रोत्साहन गर्ने नैतिकता माग गर्नुपर्छ।
यसो गर्दा, हामी हाम्रो सरकारको अखण्डता र विश्वको विश्वासलाई संरक्षण गर्छौं जुन अमेरिकालाई सैद्धान्तिक नेतृत्वको लागि हेरिन्छ । अब यी आधारस्तम्भहरूलाई सुदृढ गर्ने समय हो, बुद्धिमत्ताले सूचित र स्थिरताले विशेषता भएको भविष्य सुरक्षित गर्नै पर्छ ।
द न्यूयोर्क टाइम्सको फ्रेब्रुवरी २३, २०२५ विशेष सम्पादकीयको भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्