इलाम, ६ चैत। इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन् ।
सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्रको विकास नहुने भन्दै स्थानीयवासीले खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा बाह्रै महिना गाडी गुड्ने सडक, खानेपानी, विद्युत् र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष उदय राईले बताउनुभयो ।
नेपाल–भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जडीबुटी र हिमशृङ्खलाको दृश्यावलोकनका लागि सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् ।
ज्ञापनपत्र बुझ्दै पूर्वप्रम खनालले पर्यटकीय क्षेत्रको विकासका लागि आफूले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्