काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।
३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।
भोलि कार्यालय समयको शुरुमै गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न ९फुली० लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्ने केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए । यद्यपि नेपाल प्रहरी प्रधान कार्यालयमा निवृत्त हुन लागेका आईजी कुँवरसहितका उच्च अधिकृतको अहिले चलिरहेको बिदाई समारोहमै कुँवरले थापालाई प्रहरी प्रमुखको जिम्मेवारी (चार्ज) हस्तान्तरण गर्दैछन् ।
थापाले कार्यभार सम्हाल्ने क्रममा भोलि बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति अनिवार्य गरिएको छ ।
२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । भक्तपुरबाट प्रहरीको आईजीपी हुने थापा दोस्रो व्यक्ति हुन् । यसअघि सोही जिल्लाबाट शैलेश थापा क्षेत्रीले आईजीपीको जिम्मेवारी बहन गरिसकेका छन् ।
थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मवारी सम्हालिसकेका उनले प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंको कार्यालय प्रमुखको अनुभवसमेत हासिल गरेका छन् ।
उनी बेरुजु फर्छ्योट कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेकाले २०७५, ०७६, ०७७ र ०७८ सालमा प्रशंसापत्रसहित पुरस्कृत अधिकृत हुन् । प्रहरी कार्य (पुलिसिङ), मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापनसहित विपद् व्यवस्थापनमा उनको विशेष अनुभव रहेको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्