काठमाडौं ६ चैत । आउँदो जेठ २ देखि ४ गतेसम्म काठमाण्डौमा आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रूपरेखा, विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरूको निमन्त्रणा, विज्ञहरूको सहभागिता, सद्भावनादूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिई कार्यक्रमलाई विशेष बनाउन आग्रह गर्नुभयो । उहाँले कार्यक्रमको तयारी हरेक हिसाबले उत्कृष्ट रूपमा गर्न निर्देशन दिनुभएको छ ।
सगरमाथा संवाद कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सचिवालय सञ्चालनमा आइसकेको छ । सरकारले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर संवाद आयोजना गर्न लागेको हो ।
यो कार्यक्रममार्फत जलवायु परिवर्तनको मुद्दामा पर्वतीय देशको तर्फबाट अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न खोजेको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताउनुभयो । जलवायु परिवर्तनको मुद्दा बोकेर छलफल गर्न खोजिएको सगरमाथा संवादलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समेट्ने गरी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यो कार्यक्रम गएको माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्षका अवसरमा घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्