अर्घाखाँची, ९ चैत्र । देशको अर्थतन्त्रले अहिले सहि बाटो समाएको नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । सनिवार सन्धिखर्कमा नेकपा एमाले क्षेत्रीय कमिटी १ र २ ले आयोजना गरेको प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिवले अहिलेको सरकारले विगतमा बिग्रिएको अर्थतन्त्रलाई सुधार्दै गएको बताएका हुन ।
ज्ञवालीले नेकपा एमालेले देशलाई संकटबाट बचाएको पनि बताए । उनले भने ‘अहिले देशको अर्थतन्त्रले सहि बाटो समाएको छ, यसलाई रोकेर अस्थिरता तर्फ लैजाने प्रयास पनि बेला-बेला भइराखेका छन्, देशमा अस्थिरता ठुलो समस्या हो ।’
नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि रोकिएका विकासका कामहरू रफ्तारमा अघि बढिरहेको जिकिर गरे । ‘कांग्रेस एमालेको संयुक्त सरकार भएपछि देशमा विकासले गति लिएको छ,’ उनले भने ”सुरुङ्ग मार्गको काम देखि अन्य थुप्रै विकास काम अघि बढिरहेका छन् ।’
यस्तै ज्ञवालीले पछिल्लो समय राजावादीहरु सक्रिय भइरहेकाले यस्ता गलत प्रवृत्तिलाई रोक्न आवश्यक रहेको बताए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै राजतन्त्र देशमा फर्कन नसक्ने पनि जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्