काठमाडौ १२ चैत । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि नागरिकदेखि नेतासम्म चौतर्फी विरोध भइरहेको छ।
मुलुकलाई लोडसेडिङमुक्त गरेको भनी देशभरका नागरिकबाट प्रशंसा पाइरहेका कुलमानलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एकाएक हटाएपछि कलाकारहरू पनि आक्रोशित भएका छन्।
यसै क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमानलाई भुलमान, सालोलाई पालो।’
सरकारले कुलमानलाई हटाउनासाथ सोमबार नै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको छ। शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको साला पर्ने चर्चा छ।
यस्तै हास्य कलाकार मनोज गजुरेलले पनि कुलमानको बर्खास्तगीप्रति असन्तुष्टि जनाएका छन्।
उनले लेखेका छन्, ‘प्राधिकरणमा रहनुरहट्नुको कारणरतर्क जसले जेसुकै देओस्, सर्वसाधारणका नजरमा, कुलमान लोकप्रिय थिए, भए र रहनेछन्।’
अन्य कलाकारले पनि कुलमान हटाएकामा विरोध जनाइरहेका छन्।
कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकामा सत्तारुढ दल नेपाली कांग्रेसभित्रै चर्को विरोध भइरहेको छ भने प्रतिपक्षी दलले त कडा प्रतिवादमै उत्रिने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्