काठमाडौँ, १२ चैत्र । गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा एकैदिन प्रदर्शन हुँदै छ । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले पनि त्यसैदिन तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । प्रसाईं नेतृत्वको समूहले चाहिँ काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्नेबारे प्रशासनलाई जानकारी गराएका छन् । तर, नवराज सुवेदी नेतृत्वको पूर्व राजसंस्थावादी समूहले चाहिँ प्रदर्शन स्थलबारे सार्वजनिक रूपमा बताएका छैनन् । सो समूहकी सदस्य अस्मिता भण्डारीले राजावादी समूह सबैको एकै ठाउँमा हुने भन्दै तीनकुने नै हुनसक्ने बताइन् । समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्नेबारे जानकारी गराएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । दुईस्थान बाहेक अन्यत्र प्रदर्शनको कार्यक्रमबारे आफूलाई जानकारी नभएको प्रजिअ तिवारीले बताए । प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ जिल्ला प्रशासन कार्यालयसँग समन्वय नगरेपनि उनीहरूले प्रसाईंसँगै संयुक्त रूपमा प्रदर्शनको तयारी गरिरहेको बुझेको सुरक्षा अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘तीनकुनेमा प्रमुख अतिथि नवराज सुवेदी हुनेगरी तयारी भएको जानकारी पाएका छौँ ।’ चैत १० मा गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्