काठमाडौं १३ चैत । वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान ७ बजेसम्म काठमाण्डौको एयर क्वालिटी इन्डेक्स एक्युआई० एक सय ६६ छ ।
आईक्यू एयरका अनुसार एक सय ५० सम्मको एक्युआईलाई सन्तोषजनक, एक सय ५० देखि दुई सयसम्मलाई अस्वस्थ, त्यसमाथी तीन सयसम्म अति अस्वस्थ र तीन सयमाथी आपत्कालीन अवस्था मानिन्छ ।
सुख्खायाम शुरु भएसँगै जङ्गलमा लागेको डढेलो, पर्याप्त वर्षा नभएको, धुलाम्मे सडक, फोहोर जलाउनेलगायतका कारण नेपालमा यो बेला प्रदूषण उच्च हुने गर्छ । वायु प्रदूषणले विभिन्न रोगको जोखिम बढाएसँगै अस्पतालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् ।
वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने तथा आँखा, छाला, मुटु र मष्तिस्कमा पनि असर गर्ने वरिष्ठ छाती तथा फोक्सोरोगका वरिष्ठ विशेषज्ञ डा।अच्युत भक्त आचार्यको भनाइ छ । वायु प्रदूषणबाट जोगिन सकेसम्म घर बाहिर नजाने, जानै परे मास्क लगाउन, सरसफाईमा ध्यान दिन उहाँको सुझाव छ ।
यसैबीच आज तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन र चट्याङसिहत वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भागमा आंशिक बदली रहेको तर धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्