जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँको सोमबार राति जनकपुरधाममा निधन भएको हो।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजे परिवारका सदस्यसँग कुराकानी गरिरहनुभएका विमल एक्कासि बेहोस हुनुभएको थियो। तत्कालै अस्पताल पुर्याइए पनि उपचारका क्रममा राति पौने १ बजेतिर उहाँको निधन भएको कान्छा छोरा डा. विभाष लाभले जानकारी दिनुभयो।
विमलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित निवासमा राखिएको छ। पारिवारिक स्रोतका अनुसार उहाँको मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।
भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएका विमलका नेपाली, मैथिली र अंग्रेजी भाषामा विभिन्न साहित्यिक कृति प्रकाशित छन्। उहाँले २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनसमेत गर्नुभएको थियो।
विमल जगदम्बा श्री पुरस्कारसहित विभिन्न साहित्यिक सम्मानबाट विभूषित हुनुभएको थियो। उहाँको जन्म सन् १९४७ मार्च २६ मा जनकपुरको देवीचोकमा भएको थियो। उहाँको एउटा कथा कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समेत समावेश गरिएको छ।
नेपाली र मैथिली साहित्यमा योगदान
डा. राजेन्द्र विमलले नेपाली साहित्यका कविता, कथा, उपन्यास तथा भाषाविज्ञानसम्बन्धी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। मैथिली भाषामा समेत उहाँको उल्लेखनीय लेखन रहेको थियो।
त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म नेपाली विषय अध्यापन गर्नुभएका विमलले साहित्यप्रति नयाँ पुस्ताका विद्यार्थीलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यप्रेमीहरूले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्