काठमाडौं १३ चैत । बाँकेको नरैनापुर र रामेछापमा भएको आगलागीबाट २२ घरगोठ जलेका छन् । नरैनापुर गाउँपालिकामा १७ घरगोठ र रामेछापमा पाँच घरगोठ जलेका हुन् । बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा हिजो दिउँसो आगलागी भएको थियो ।
जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले निभाएका सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो । खरले छाएका र एकआपसमा जोडिएका घरगोठ रहेका अनि तीव्र हावाहुरीका कारण आगोले क्षति गरेको उहाँको भनाइ छ ।
आगलागीका कारण ६० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगलागी पीडितलाई राहत दिने बताउनुभएको छ । हरेक वर्ष नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुँदै आएका छन् ।
यसैबीच रामेछापको रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रागाउँमा आगलागीबाट दुई वटा घर र तीनवटा गोठ जलेका छन् । घर नजिकैको जङ्गलमा लागेको आगो हिजो बस्तीमा पस्दा आगलागी भएको हो । हावाहुरीले आगो थप फैलिएको थियो ।
मानवीय क्षती नभए पनि घरमा भएका अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रामेछाप प्रहरीले चैतरवैशाखमा आगलागीको जोखिम हुने भएकाले सर्तकता अपनाउन, वनजङ्गलमा डढेलो नलगाउन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्