काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) ले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ।
शुक्रबार साँझ प्रेस वक्तव्य जारी गरी महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने स्पष्ट पारेका छन्।
शुक्रबार राजावदी प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको एमालेले निन्दा गरेको गरेको छ।
‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्’ वक्तव्यमा भनिएको छ।
वक्तव्यमा ‘आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि सरकारसँग माग’ गरिएको छ।
प्रतिक्रिया दिनुहोस्