काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैबाट सुधारको थालनी गर्नुभएको छ । सुशासनको अनुभुति दिन प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्यामा भारी कटौती गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बुधवारको मन्त्रिपरिषद बैठकबाट सचिवालयमा रहने संख्या कटौती गरी सुधारको थालनी गर्नुभएको हो । नयाँ ब्यवस्थाअनुसार प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीको सचिवालय कार्यविधि सच्याउँदै यस्तो निर्णय गरिएको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार सरकारले आर्थिक मितव्ययिता कायम गर्न प्रधानमन्त्रीको सचिवालयमा कटौती गरेको हो । राजनीतिक दलका कार्यकर्ताको व्यवस्थापनका लागि भन्दै यसअघिका प्रधानमन्त्रीले आफ्नो सचिवालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदै आएका थिए ।
प्रधानमन्त्रीको सचिवालय डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला २३ बाट बढाएर ४६ सदस्यीय बनाइएको थियो । प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि सामान्य पदसम्म कार्यकर्ता भर्ती गर्ने गरिन्थ्यो । जसलाई तलब भत्ता, इन्धन, सञ्चार लगायतका सुविधा दिँदा राज्यको करोडौँ रकम खर्च हुने गरेको थियो ।
बैठकले सरकारलाई विभिन्न विषयमा सुझाव दिन पाँच वटा समिति गठन गरेको छ । ती समितिहरूमा राजनीतिक समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति र विधेयक समिति छन् ।
प्रतिक्रिया दिनुहोस्